मोरङको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसका प्रभावशाली नेताहरूलाई पराजित गर्दै तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने बाँकी क्षेत्रमा पनि अग्रता कायम गरेको छ।
छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा हालसम्म परिणाम सार्वजनिक भएका तीन क्षेत्रमध्ये सबैमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। बाँकी तीन क्षेत्रमा पनि रास्वपाका उम्मेदवार उल्लेख्य मतान्तरसहित अघि रहेको जनाइएको छ।
मोरङ–६ मा रास्वपाकी रुबिना आचार्यले नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई ४२ हजार ६ सय ६३ मतान्तरले पराजित गरिन्। अन्तिम परिणामअनुसार आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गरिन् भने कोइरालाले १२ हजार ८ सय ५० मत मात्रै पाए।
यसै क्षेत्रमा नेकपा एमालेका विनोदप्रसाद ढकाल ८ हजार ३ सय १७ मतसहित तेस्रो स्थानमा रहे। श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४ सय मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौला २ हजार ९२ मतसहित पाँचौँ स्थानमा रहे। कोइराला बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ।

मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशीले नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै विजय हासिल गरे। राजवंशीले ४० हजार ८ सय ३३ मत प्राप्त गर्दा घिमिरेले १२ हजार ८ सय १८ मत पाए।
यसै क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीका अमनलाल मोदीले १० हजार ७ सय ६२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे। जीवन घिमिरेले ६ हजार ९ सय ३३ मत पाएपछि उनको जमानत जफत भएको छ।
मोरङ–५ मा रास्वपाकी आशा झा ३० हजार ४ सय ३४ मतसहित विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका फुलकुमार लालबानीले ९ हजार ४ सय १५ मत प्राप्त गरे। उनीहरूबीच २१ हजार १८ मतान्तर रहेको छ।
यसै क्षेत्रमा जनता समाजवादी पार्टीका राजकुमार यादवले ८ हजार ७ सय ४७ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका शिवकुमार मण्डल केवटले ८ हजार ६ सय १४ मत पाए। एमालेका मनोजकुमार अग्रवालले ६ हजार ९ सय ४५ मत प्राप्त गरेका छन्।
मोरङका निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को मतपरिणाम आउन बाँकी रहेको भए पनि ती क्षेत्रमा पनि रास्वपाका उम्मेदवार उल्लेख्य मतान्तरसहित अघि रहेको जनाइएको छ।
प्रकाशित: २३ फाल्गुन २०८२ १९:११ शनिबार





