३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

नेकपा उम्मेदवार बिष्टले सार्वजनिक गरे प्रतिबद्धता

नेपालगन्जमा आइतबार आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै नेकपाका उम्मेदवार दिपेन्द्र बिष्टलगायत। तस्बिर : नागरिक

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ उम्मेदवार दिपेन्द्र बिष्टले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेपालगन्जमा आइतबार औपचारिक रूपमा उनले प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

प्रतिबद्धतामा उनले भ्रष्टाचारलाई शून्यमा झारेर सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राखेर काम गर्ने दृढता व्यक्त गरेका छन्। नेपालगन्जलाई सूचना प्रविधिमैत्री सेवा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने दृष्टिकोण राखिएको छ।

सर्वसाधारण नागरिकका दैनिकी सहज बनाउन सिफारिस, कर भुक्तानी र विभिन्न सरकारी सेवा अनलाइनमार्फत उपलब्ध गराइने, सबै शुल्क डिजिटल प्रणालीमार्फत तिरिने, फाइलको अवस्था नागरिकले आफैँ अनलाइन प्रणालीमार्फत पेश गर्न सक्ने व्यवस्था लागू गरिने लगायत उल्लेख गरिएको छ।

बेरोजगार युवाका लागि उत्पादनमा आधारित स्वरोजगार कार्यक्रम, युवा उद्यमीलाई बिनाधितो सस्तो ब्याजदरमा स्टार्टअप कर्जा तथा कर छुटको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ। बाढीको समस्या दीर्घकालीन रूपले समाधान गर्न ठोस योजना अगाडि सारिएको छ।

राप्ती नदीमा वैज्ञानिक र दिगो तटबन्ध निर्माण, बगर क्षेत्रलाई व्यावसायिक तरकारी खेतीसँग जोड्ने र बाढी–डुबान व्यवस्थापनमा स्थानीय समुदायको निर्णायक सहभागिता सुनिश्चित गर्ने रणनीतिले विकासलाई जोखिम व्यवस्थापनसँग जोडेको छ। भूमिहीन सुकुम्बासी लगायत भूमी समस्याको नीतिगत समाधान गर्ने प्रतिबद्धता जनाइएको छ।

पर्यटन तथा धार्मिक अर्थतन्त्र सुदृढीकरणका लागि लुम्बिनी–नेपालगन्ज पर्यटन सर्किटलाई बलियो बनाउने योजना अगाडि सारिएको छ। कम्दी–बालापुर क्षेत्रमा रहेको प्राचीन गुम्बा बृहतकालीन शहरको पुरातात्विक खोज तथा अनुसन्धानका लागि लुम्बिनी विकास कोष र नेपाल सरकारसँग समन्वय गर्ने उल्लेख छ।

यस्तै बागेश्वरी मन्दिर लाई ‘स्मार्ट बागेश्वरी’ का रूपमा विकास गर्दै डिजिटल व्यवस्थापन प्रणाली स्थापना गर्ने योजना प्रतिबद्धता पत्रमा समेटिएको छ। उम्मेदवार बिष्टको प्रतिबद्धतामा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको कामलाई सरकारको लक्ष्यभन्दा पाँच वर्ष अगावै अर्थात् अबको दुई वर्षमै सम्पन्न गर्ने लगायत स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न विषयलाई समावेश गरिएको छ।

प्रकाशित: ३ फाल्गुन २०८२ २०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App