उदयपुरमा जारी ‘रेडबुल एन्फा महिला च्याम्पियनसिप–०८२’मा प्रतिद्वन्द्वी आरएस रिसोर्टविरुद्ध डेढ दर्जनभन्दा बढी गोलको वर्षा गर्दै एपिएफ टिम शानदार विजयी भएको छ। विपक्षीविरुद्ध १९–० गोल गरेको एपिएफका लागि रश्मीकुमारी घिसिङ एक्लैले ११ गोल गरेकी थिइन् भने बाँकी अन्य खेलाडीबाट भयो।
खेल सुरु भएको सातौँ मिनटमा अनिता केसीले पहिलो गोल गर्दै टिमलाई अघि बढाएकी थिइन्। १० औँ मिनटमा अर्की खेलाडी सबु लिम्बुले दोस्रो गोल थपिन् भने तेस्रो गोल निशा थोकरले १९ औँ मिनटमा गरेकी थिइन्।
२३ औँ मिनटमा टिमका लागि चौथो गोल गरेकी घिसिङपछि ३१ औँ मिनटमा गीता रानाको पाँचौँ गोल भयो। त्यसपछि ३५ औँ र ४५ औँ मिनटमा थप २ गोल गर्दै घिसिङले मध्यान्तरअघि नै ह्याट्रिक भ्याइसकेकी थिइन्।
मध्यान्तरअघि एपिएफबाट लगातार ७ गोल भएपछि आयोजकले अतिरिक्त २ मिनट समय थप्यो। तर, त्यसको उपयोग विपक्षी आरएस रिसोर्टले गर्न सकेन।
मध्यान्तरपछिको खेलमा एपिएफकी मनमाया दमाईले ४८ औँ मिनटमा गोल थपिन् भने ४९ औँ मिनटमा अनिता केसीको प्रहारले जाली चुम्यो। ६२ औँ मिनटमा मनमायाको सट्टामा मैदान छिरेकी हिमाल रावतले ६८ औँ मिनटमा गोल गरिन्। ७१ औँ मिनटमा तेस्रो पटक गोल गर्दै अनिता केसीको ह्याट्रिक भयो। त्यस बाहेकका ५ गोल भने घिसिङकै प्रहारबाट सम्भव भएको हो।
घिसिङले मध्यान्तरपछिको ५१ औँ, ६०, ६७, ७७, ८१, ८२, ८३ र ८७ औँ मिनटमा गोल गरेकी थिइन्। यसरी एपिएफले १९ गोल गर्दासम्म पनि विपक्षी आरएस रिसोर्टका खेलाडीहरु भने हार नस्वीकारी बलियो आत्मबलका साथ प्रतिस्पर्धा गरिरहेका थिए।
अघिल्लो दिनको खेलमा नेपाल पुलिसले गोलरहित रिएल महिला टिमविरुद्ध १० गोलको वर्षा देखेका दर्शकले आईतबारको खेलमा एपिएफको लगातार १९ गोल लभगभ पट्यार लाग्दो मानेका थिए। मिनट, २ मिनटकै फरकमा घिसिङको प्रहार गोलमा परिणत हुँदा पूर्वतर्फको एउटा प्याराफिट पुरै ढाकेका सशस्त्र प्रहरी बलका दर्शलाई भने हुटिङ गर्न उत्साहित बनाएको थियो। हरेक पटकको गोलमा सशस्त्र प्रहरी बलको झण्डा उचालेर हल्लाउनुले उनीहरू खुसी भएको पुष्टि गर्थ्यो।
खेलको म्यान अफ द म्याचको उपाधि एपिएफकी उनै घिसिङले पाइन्। उनलाई आयोजकको तर्फबाट ७ हजार नगद र ट्रफी प्रदान गरियो।
सोमबारको खेलमा उद्घाटन खेलको विजेता न्युरोड टिम (एनआरटी) र त्रिभूवन आर्मीबीच हुने प्रतियोगिता सहजीकरण सँस्था एन्फा उदयपुरका राजन राईले बताए।
आउँदो ९ गते फाईनल खेल हुने प्रतियोगितामा घरेलु टिम गाईघाट र विभिन्न विभागीयसहित १० टिम सहभागी रहेको एन्फाले जनाएको छ। हालसम्म गाईघाट, रिएल ओमन, नेपाल पुलिस, एपिएफ र आरएस रिसोर्ट चर्च ब्वाइज युनाइटेड, छहारी वाइसीको भिडन्त भईसकेको छ। अव त्रिभुवन आर्मीले एनआरटीसँग र चर्च ब्वाईजले शंकटा क्लबसँग पौँठेजोरी खेल्न बाँकी छ।
एन्फा महासचिव किरण राईका अनुसार विजेता टिमलाई ७ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले ५ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ। त्यसैगरी विभिन्न टाईटलमा विधागत पुरस्कार र म्यान अफ द म्याचले पनि पुरस्कार पाउनेछन्।
प्रकाशित: ३ फाल्गुन २०८२ २०:०६ आइतबार





