२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नेसनल भोलिन्टियर फोर्सले भन्यो : झन्डा जलाउनेमाथि छानबिन र कारबाही होस्

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेसनल भोलिन्टियर फोर्सले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रममा एमालेको झन्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि आधारहीन आरोप लगाइएकोप्रति गम्भीर आपत्ति जनाएको छ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठद्वारा जारी वक्तव्यमा लोकतन्त्रको नाममा अराजक गतिविधि, गालीगलौज र चरित्रहत्या स्वीकार्य नहुने उल्लेख गरिएको छ। राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गर्नुपर्ने भन्दै झन्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्य लोकतान्त्रिक संस्कारविरुद्ध भएको उनको भनाइ छ।

वक्तव्यमा उक्त घटनाको तत्काल छानबिन गर्न, संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न र यस्ता गतिविधि दोहोरिन नदिन राज्य संयन्त्र सक्रिय बन्न माग गरिएको छ। यस्ता घटनामा राज्य मौन बसे कानुनप्रति जनविश्वास कमजोर हुने चेतावनीसमेत दिइएको छ।

संगठनले राष्ट्रिय स्वाभिमान, विधिको शासन र राजनीतिक मर्यादाको रक्षाका लागि अराजक गतिविधिविरुद्ध सशक्त प्रतिवादमा उत्रने चेतावनी दिएको छ।

प्रकाशित: ८ फाल्गुन २०८२ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App