नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असामान्य संकटबाट देशलाई बचाउन राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।
उनले एक प्रेस नोट जारी गर्दै लोकतान्त्रिक मार्गमै समाधान खोज्नुपर्ने बताए ।
भदौ २३ गतेको ‘नव–युवा (जेन-जी) आन्दोलन’ तथा भदौ २४ गते भएको विध्वंसपछिको असामान्य राजनीतिक अवस्थामाथि प्रतिक्रिया दिँदै पोखरेलले देशलाई अन्यौलता र अनिश्चितताबाट निकाल्न लोकतान्त्रिक पद्धति र राष्ट्रिय एकतामा आधारित साझा प्रयास आवश्यक रहेको बताएका छन्।
पोखरेलले एक विस्तृत टिप्पणी सार्वजनिक गर्दै भदौ २३–२४ का घटनापछि मुलुक असामान्य स्थितिमा पुगेको, संविधानमाथि अतिक्रमण र प्रतिगमनका संकेत देखिन थालेको र राजनीतिक स्थायित्व, राष्ट्रियता तथा नागरिक अधिकारमाथि गम्भीर खतरा उत्पन्न भएको उल्लेख गरेका छन्। उनका अनुसार, ‘दैनिकी सामान्य हुँदै गएको देखिए पनि राजनीतिक अन्यौलता झनै गहिरिंदै गएको’ छ।
पोखरेलले जेन-जी आन्दोलनमा अभिव्यक्त भएको नव–युवा पुस्ता तथा आम नागरिकको असन्तुष्टी, आकांक्षा र आक्रोशलाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, नयाँ पुस्ताले दिएको सन्देशले पुराना कार्यशैली, अवधारणा र योजनाहरूलाई अद्यावधिक गर्नै पर्ने परिस्थिति बनाएको छ।
विध्वंसमा संलग्नहरूलाई उन्मुक्ति दिने प्रवृत्ति गलत भएको चेतावनी दिंदै पोखरेलले त्यसले राष्ट्रिय आत्मविश्वास कमजोर बनाउने बताए। उनका अनुसार, आन्दोलन र विध्वंसका आधारमा वादी–प्रतिवादी मनोविज्ञान भड्काएर लोकतन्त्र र राष्ट्रिय हित जोगाउन सकिँदैन।
पोखरेलले विद्यार्थी जीवनदेखि पञ्चायती कालको भूमिगत संघर्ष, खुला राजनीतिमा संसदीय भूमिका, सरकार र पार्टीको नेतृत्वसम्म पुगेको आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै आफू निरन्तर राष्ट्र, जनता र पार्टीको हितमा समर्पित रहँदै आएको उल्लेख गरेका छन्।
उनले अहिलेको कठिन परिस्थितिमा आम जनता, जेन-जी पुस्ता र पार्टी पंक्तिलाई ‘लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकता’ को बाटोमा फर्किन अभूतपूर्व एकता निर्माण गर्न आह्वान गरेका छन्।
मंसिर २७–२९ गते काठमाडौंमा हुने एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रस्तावहरूमा पुनर्विचार र नयाँ निष्कर्ष आवश्यक रहेको पोखरेलले बताएका छन्।
उनका अनुसार, भदौ २३–२४ पछि देशको राजनीतिक अवस्था, दल, सरकार तथा संसदको स्वरूप नै बदलिएकोले विधान महाधिवेशनका केही निष्कर्ष अद्यावधिक गर्नुपर्ने बाध्यता छ।
उनले मंसिर १३ गते देशभर एकै दिन हुने महाधिवेशन प्रतिनिधि छनोटमा उत्साहपूर्वक सहभागी हुन सबै सदस्यलाई आग्रह गरेका छन्।
संविधानको रक्षा, संसद विघटनविरुद्धको आवाज र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण आवश्यक रहेको बताउँदै पोखरेलले पार्टीले सुरु गरेको देशव्यापी जनपरिचालन कार्यक्रमलाई सफल बनाउन अपिल गरेका छन्।
एमालेले यसैअन्तर्गत कार्तिक २९ गते देशभरका जिल्लामा र मंसिर ६ गते काठमाडौंमा ‘जागरण प्रदर्शन’ आयोजना गर्दैछ।
प्रकाशित: २८ कार्तिक २०८२ १४:४३ शुक्रबार



-600x400.jpg)

