संघीय संसद् भवन जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेपछि राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रिय सभा भने कायम छ । राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित पुरानो बैठक हलमा बस्ने व्यवस्था गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभामा सबै सामग्री जलेकाले त्यहाँ बस्न सम्भव नभएको बताउँदै संसद सचिवालयका एक कर्मचारीले तत्काल अन्य हल उपलब्ध हुने सम्भावना नभएपछि सिंहदरबारमा पहिला बस्ने गरेको हलमा बस्ने व्यवस्था गरिएको बताए ।
२०४८ देखि २०६३ सालको पुनर्स्थापित संसद्सम्म सोही हलमा राष्ट्रिय सभाको बैठक बसेको थियो ।
अन्तरिम संविधान २०६३ जारी भएपछि एक एकसदनात्मक व्यवस्थाका कारण राष्ट्रियसभा बैठक बस्ने ठाउँमा संसदीय समितिका बैठक बस्ने गर्दथे । राष्ट्रिय सभा र प्रतिनिधिसभा नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सरेपछि यो हलमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै आएको थियो ।
भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका कारण राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित छ । सचिवालयका कर्मचारीका अनुसार, बैठकस्थल तयार भएपछि अवस्था हेरेर राष्ट्रिय सभाको बैठक बोलाउने तयारी छ ।
प्रकाशित: ३० भाद्र २०८२ १९:५४ सोमबार





