संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडलाई राख्ने गरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति अघि बढेको छ ।
समिति यति बेला विधेयकको दफावार छलफलमा छ । तर दफा १० मा छलफलमा पुगे पनि दफा ८२ मा रहेको कुलिङ पिरियड राख्ने व्यवस्थालाई स्पष्ट ढंगले राख्ने गरी अघि बढेको छ ।
सरकारी सेवामा रहेका कर्मचारी अवकास भएमा वा राजीनामा दिएमा न्यूनतम दुई वर्षसम्म नै कुलिङ पिरियड राख्ने गरी समिति अघि बढेको हो । एमालेले भने असमति जनाए पनि कांग्रेस र माओवादी, एकीकृत समाजवादीको जोडबलले कुलिङ पिरियड राखिने भएको छ ।
प्रतिनिधि सभाले पारित गरेर पठाएको दुई वर्षे कुलिङ पिरियडमा उल्लेख दुई थरी वाक्यांशलाई स्पष्ट ढंगले कुलिङ पिरियड राख्ने गरी अघि बढ्ने र पदपूर्तिमा सामान्य हेरफेर गर्ने गरी समिति अघि बढेको समितिका एक सदस्यले बताए ।
भदौ १७ गते राष्ट्रिय सभाले प्रतिनिधि सभामा संघीय निजामी सेवा विधेयक फिर्ता पठाउनु पर्ने भएकाले समितिले प्रतिनिधि सभाले पारित गरेका अधिकांश विषयलाई परिमार्जन गर्ने पक्षमा छैन समिति सभापति तुलसाकुमारी दहालले भनिन् । समितिको बुधबारको बैठकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति भएको छ। प्रतिनिधि सभाले उपसचिवपछि सहसचिवको खुला प्रतिस्पर्धालाई बन्द गरेर विधेयक पारित गरेको थियो । सरकारले सुरुमा विधेयक दर्ता गर्दा पनि सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने व्यवस्था गरेको थियो । यसैगरी, नासुको पनि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रस्ताव समितिमा आएको छ । प्रतिनिधिसभाले नासुको पनि खुला प्रतिस्पर्धालाई रोकेको थियो ।
प्रकाशित: ११ भाद्र २०८२ १९:५० बुधबार





