सरकार पुसको अन्तिम साता राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गर्न सहमत भएको छ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच सोमबार भएको भेटमा यहीँ महिनाको अन्तिम साता अधिवेशन बोलाउने बारे सहमती जुटेको हो ।
अध्यक्ष दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् । भेटमा राष्ट्रिय सभा निर्वाचन, राष्टिय सभाको अधिवेशन आह्वान, सभाका लागि आवश्यक विजनेस, कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वय, राष्टिय सभाका कर्मचारीहरूको सुविधा कटौतीलगायतका विषयमा छलफल भएको थियो।
भेटमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गर्नुपर्ने समय भइसकेको भन्दै सरकारको तयारी बारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सरकार सकारात्मक रहेको बताउँदै छिट्टै टुङ्गोमा पुग्ने जानकारी दिएकी थिइन् ।
राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदा सरकारलाई सहज हुने भन्दै अध्यक्ष दाहालले संसदका काम कारबाहीले सरकारलाई आफ्ना काम गर्न थप सहयोग नै हुने बताएका थिए ।
सिंहदरबारस्थित कृषि समितिको हललाई मर्मत गरेर राष्ट्रिय सभाको सभाकक्ष निर्माणको काम अन्तिम चरणमा पुगिसकेको जानकारी दिदै अध्यक्ष दाहालले बैठक सञ्चालनका लागि आफूहरु तयार रहेको जानकारी प्रधानमन्त्रीलाइ गराएका थिए ।
भेटमा अध्यक्ष दाहालले पूर्वसांसद मञ्चमा तत्काल देखिएका समस्या लगायत संघीय संसद सचिवालयका विविध विषय र पछिल्लो सरकार गठनपछि रोक्का भएका विभिन्न आयोजनाहरुका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित: १४ पुस २०८२ १८:२६ सोमबार





