चलचित्र अभिनेता नबल खड्का खोटाङ सेवा समाजको अध्यक्ष चयन भएका छन्। राजधानी काठमाडौंमा आइतबार राति सम्पन्न समाजको ११औँ राष्ट्रिय अधिवेशनबाट चलचित्र निर्देशकसमेत रहेका अभिनेता खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो।
जिल्लाको खोटेहाङ गाउँपालिका–८ सिम्पानीका स्थायी बासिन्दा खड्का काठमाडौंमा रहेर नेपाली चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा खट्दै आएका छन्। अधिवेशनले नेपाल चलचित्र कलाकार सङ्घका पूर्वअध्यक्षसमेत रहेका खड्काको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो।
समाजमा जिल्लाका १० वटै स्थानीय तहबाट प्रतिनिधित्व गरिएको छ। २ नगरपालिकाबाट ३–३ जना र गाउँपालिकाबाट १–२ जना सदस्य राखिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट कर्ण कटवाल, राजु एन्ड राई र दुर्गा पोखरेल; हलेसी तुवाचुङ नगरपालिकाबाट प्रकाश पुरी, कोपिला राई र दयाराम राई चयन भएका छन्।

२१ सदस्यीय नवगठित कमिटीमा खोटेहाङबाट अध्यक्ष खड्का र ज्ञानमाया परियारको प्रतिनिधित्व छ। केपिलासगढी गाउँपालिकाबाट बिषा गुरुङ र मातृका निरौला, दिप्रुङ चुईचुम्माबाट गणेश थापा र नवराज रोका, रावाबेँसीबाट जगतप्रसाद घिमिरे र मिसन राई, बराहपोखरीबाट लोकबहादुर खत्री र प्रकाश लुइँटेल, जन्तेढुङ्गाबाट कल्पना राई र गणेश बिष्ट, साकेला सन्तोष राई, ऐसेलुखर्कबाट गुणराज राजभण्डारी र रामकुमार पुरी सदस्य रहेका छन्।
अधिवेशनले अध्यक्ष मात्रै चयन गरेको २१ सदस्यीय समाजको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने विधानको व्यवस्था रहेको छ। अध्यक्ष चयनपछि खड्काले पहिलो प्रतिक्रिया दिँदै जिल्लाबासीको आशा, विश्वास र भरोसालाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले खोटाङ सेवा समाजलाई अहिलेभन्दा अझ बढी सशक्त, एकताबद्ध र गतिशील बनाउँदै खोटाङेली जनताको भावना र चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।

‘खोटाङेहरुको एउटै चाहना, सभ्य समाज र एकताको कामना’ भन्ने नारासँगै ०४४ सालमा स्थापित समाजले जिल्लाको सामाजिक हित र समग्र विकास तथा निर्माणमा सहयोग गर्दै आएको छ। खोटाङमा जन्मेका र विभिन्न पेशा व्यवसायमा संलग्न रहेका सदस्यहरूले समाजमार्फत जिल्लाको सामाजिक, आर्थिक, साँस्कृतिक र सेवामूलक काममा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
प्रकाशित: १४ पुस २०८२ १८:१७ सोमबार





