२९ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

सेवाग्राहीलाई ‘हाइसन्चो’ : चार सरकारी अड्डा एकै ठाउँमा, हटे सास्ती र झन्झट

कालीकोट सदरमुकाममा रहेको एकीकृत सरकारी भवनबाट चार सरकारी कार्यालयले एकसाथ सेवा प्रवाह सुरु गरेका छन्।

यसअघि भाडाका घरहरूमा छरिएर रहेका कार्यालयहरू एउटै भवनमा सरेपछि सेवाग्राहीलाई सहज हुनुका साथै राज्यको आर्थिक भारसमेत घटेको छ।

जिल्ला प्रशासन कार्यालय कालीकोटको निर्णयअनुसार सरकारी कार्यालयहरूलाई एकीकृत भवनमा सारिएको हो। हाल उक्त भवनको पहिलो तलामा जिल्ला निर्वाचन कार्यालय, दोस्रोमा जिल्ला हुलाक कार्यालय, तेस्रोमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र चौथो तलामा कोष तथा लेखा नियन्त्रक कार्यालय सञ्चालनमा रहेका छन्।

एउटै भवनबाट चारवटा कार्यालयले सेवा दिँदा सेवाग्राहीले विभिन्न ठाउँमा धाउनुपर्ने सास्ती हटेको छ।

साथै, महँगो घरभाडा तिर्नुपर्ने बाध्यता हट्दा राज्यको लाखौँ रुपैयाँ बचत भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार एकीकृत भवनमा सर्दा कार्यालयको मासिक ३० हजार रुपैयाँ भाडा खर्च जोगिएको छ।

यस्तै, नजिकैको एकीकृत भवनबाट सेवा सुचारु गरेको खाँडाचक्र नगरपालिकाले पनि घरभाडा बापतको ठुलो रकम जोगाएको छ। नगरपालिकाका अनुसार आफ्नै संरचनाबाट सेवा दिँदा वार्षिक ५ लाख रुपैयाँ घरभाडा बचत भएको छ।

जिल्लामा एकीकृत भवनको अवधारणा कार्यान्वयनमा आए पनि अझै केही कार्यालयहरू भने भाडाकै घरबाट सञ्चालित छन्। पूर्वाधार विकास कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, प्रदेश लेखा इकाई कार्यालय र सामाजिक विकास कार्यालय अहिले पनि भाडाका घरमा सञ्चालन भइरहेका हुन्।

प्रकाशित: १४ पुस २०८२ १८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App