राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेसँग तालमेल गर्न तयार भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भनेजति सिट नपाएपछि अन्तिममा आएर अलग भएको छ।
नेकपाले कांग्रेस र एमालेसँग राष्ट्रियसभाका १८ सिटमध्ये चार आफूलाई मागेको थियो। कांग्रेस–एमाले नेकपालाई तीन सिट मात्र दिन तयार भएपछि ऊ तालमेलबाट बाहिरिएको स्रोतको दाबी छ। उसले मतदानको अघिल्लो दिनसम्म पनि समीकरणको विषयमा छलफल गर्न सकिने भने जनाएको छ।
राष्ट्रियसभा सदस्यका लागि माघ ११ मा मतदाने हुने कार्यक्रम छ। त्यसका लागि बुधबार उम्मेदवारी मनोनयन गरिएको छ। यो निर्वाचनमा कांग्रेस र एमालेले सहकार्य गरी उम्मेदवारी दर्ता गराएका छन् भने नेकपाले एक्लै उम्मेदवारी दिएको छ।
राष्ट्रियसभा निर्वाचनबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि यी तीन दल मिलेर जान सकिने विषयमा छलफल भैरहेका छन्। तर घनिभूत छलफल हुन सकेको छैन। कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर भइरहेको किचलो र नेकपाभित्र माधव नेपाल पक्षका कारण उनीहरूले एमालेसँग घनिभूत छलफल गर्न पाएका छैनन्।
नेकपाका सहसंयोजकसमेत रहेका नेपाल आफूचाहिँ सहकार्य गर्ने पक्षमा देखिए पनि नेकपा एकीकृत समाजवादीकालीन उनी पक्षका अन्य नेताहरु चुनावमा मिलेर जानु हुँदैन भन्नेमा छन्। यस विषयमा तत्कालीन माओवादी केन्द्रका नेताहरुमा पनि मत बाँझिएपछि नेकपाका संयोजक पुष्पकमल दाहालले तत्काल चुनावी सहकार्यको सम्भावना कमजोर रहेको बताएका छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग तालमेल हुन नसकेपछि दाहालले चुनावी सहकार्य वा गठबन्धन कुनै पनि दलसँग नगर्ने र एक्लै जनता माझ जाने बताएका छन्।
नेकपाका संयोजक दाहालले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। लामो समयपछि दुई नेताबिच कुराकानी भएको हो। दाहालले नयाँदिल्ली जानुअघि ओलीसँग गरेको भेटघाटलाई लिएर राजनीतिक वृत्तमा अनेकन अड्कबाजी भए। त्यो भेटबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्यको वातावरण बनेको अड्कल पनि काटिएको थियो। तर त्यो अनुमान अन्तिममा आएर फेल खाएको छ।
दाहालसहित अन्य नेताहरु दिल्ली गएपछि मुलुकभित्र एक प्रकारको राजनीतिक संशय उत्पन्न भएको छ। कतिपयले राष्ट्रियसभा निर्वाचनमा दाहाल नेतृत्वको नेकपाले कांग्रेस र एमालेसँग सहकार्य नगर्नुमो दिल्लीकै हात रहेको आशंका गरेका छन्।
देशभर राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी भइरहँदा नेताहरू दिल्ली जानुले राजनीतिक संशय हुनु स्वाभाविक भएको विश्लेषकहरु बताउँछन्। प्राध्यापक कृष्ण पोखरेल दाहालको दिल्ली यात्रालाई त्यहाँका नेपालीसँगको भेटघाट रुपमा मात्र हेर्न नहुने बताउँछन्।
‘पुष्पकमल दाहालले दिल्ली जानुअघि केपी ओलीसँग पनि भेटघाट गरेकाले राजनीतिक कुराकानी पक्कै भए होला भन्ने अनुमान छ। दाहालले दिल्लीमा पनि भेटघाट गरेका खबर सञ्चारमाध्यममा पनि आएका छन्, जसले गर्दा अन्य दललाई संशय हुनु स्वाभाविक हो’, पोखरेलले भने।
नेकपाका संयोजक दाहालदेखि पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेत्री आरजु देउवासम्म दिल्ली पुग्नुलाई संयोग मात्र मान्न नसकिने अवस्था छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दिल्लीबाट फर्किएलगत्तै नेकपाका संयोजक दाहाल दुईदिने दिल्ली यात्रा सकेर सोमबार राति फर्किएका हुन्।
दिल्लीबाट फर्किएपछि बसेको नेकपाको बैठकमा उनले कुनै दलसँग चुनावी गठबन्धन नहुने बताएका थिए। उनले सचिवालयको बैठक राखेर राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्यका लागि सहसंयोजक नेपाललाई साथ लिएर अघि बढेका समाचार पनि यसै अवधिमा आयो। दाहाल राष्ट्रियसभामा ४ सिट पाए सहकार्य गर्न तयार थिए तर नपाएपछि अलग भएको एकथरी स्रोतको दाबी छ।
दाहाल दिल्लीबाट काठमाडौं फर्कन लाग्दा कांग्रेस नेत्री आरजु त्यहाँ पुगेकी हुन्। प्रधानमन्त्री सुशीला कार्कीका पति दुर्गाप्रसाद सुवेदी पनि उपचारका लागि आइतबार साँझ दिल्ली पुगेका छन्।
त्यस्तै एक सार्वजनिक कार्यक्रममा भाग लिन रास्वपा उपसभापति स्वर्णिम वाग्ले पनि बिहीबार दिल्ली जाँदै छन्। यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक भट्टराई दिल्ली पुगेका थिए। दाहालले पार्टीको प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन दिल्ली गएको भने पनि त्यहाँ बस्दा भारतीय शक्तिकेन्द्रसँग कुराकानी गरेको समाचार प्रवाह भइरहेका छन्।
दिल्लीको लाजपतनगरमा सोमबार हुने प्रवासी संगठनहरूबिचको एकता सन्देशसभालाई सम्बोधन गर्न दाहाल त्यहाँ गएको भनिएको थियो। सन्देशसभामा भने उनी काठमाडौं फर्किनु केहीबेरअघि मात्र पुगेका थिए। त्यहाँबाट उनी काठमाडौं आउन सिधै विमानस्थलतर्फ लागेका थिए।
दुईदिने दिल्ली भ्रमणका क्रममा खान मार्केटनजिकै रहेको होटल ताजमान सिंहमा बसेका दाहालसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेट गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्। दाहाल–डोभल वार्ता सोही होटलमा भएको बताइएको छ।
२०७९ साल मंसिरमा आमनिर्वाचन हुनुअघि असार अन्तिम साता पनि दाहालले पूर्वप्रधानमन्त्रीको हैसियतमा डोभल, एस जयशंकर, विनयमोहन क्वात्रा, भाजपाका तत्कालीन अध्यक्ष जेपी नड्डा लगायतसँग वार्ता गरेका थिए। त्यसबेलाको वार्ताले दाहाललाई कांग्रेससँग चुनावी गठबन्धनमा पुर्याएको थियो।
अहिले मुलुकमा रवि लामिछाने, बालेन साह र कुलमान घिसिङ मिलेर चुनावमा जान राष्ट्रिय स्वतन्त्र पार्टीको छातामुनि गोलबद्ध भएपछि कांग्रेस, एमाले र नेकपाले पनि सहकार्य गर्ने चर्चा भइरहेको छ तर दाहाल राष्ट्रियसभा निर्वाचनमा सहकार्यमा आएनन्।
यसैबिच नेपाली कांग्रेसबाट माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नौ नेताहरूले उम्मेदवारी दिएका छन्। पार्टी कार्यसम्पादन समितिको बुधबारको निर्णय अनुसार उनीहरू उम्मेदवारी दर्ता गराएका हुन्।
कोसीबाट सुनिलबहादुर थापा (धनकुटा), मधेसबाट धमेन्द्र पासवान (रौतहट), रन्जित कर्ण (सप्तरी), बागमतीबाट गीता देवकोटा (चितवन), गण्डकीबाट जगत तिमिल्सिना (तनहुँ), लुम्बिनीबाट वासुदेव जंगली (दाङ), चन्द्रबहादुर केसी (गुल्मी), कर्णालीबाट ललितजंग शाही (जुम्ला) र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (बाजुरा) ले उम्मेदवारी दर्ता गराएका छन्। १८ सिटका लागि हुने निर्वाचनमा एमालेले ८, मधेसी मोर्चाले १ र कांग्रेसले ९ सिटमा सहकार्य गरी उम्मेदवारी दिएका छन्।
‘चुनावमा वामपन्थीहरू नै मिल्नुपर्छ’
यतिबेला मुलुकमा निर्वाचनको माहोल बनिरहेको छ। निर्वाचनमा तीन दल मिल्ने चर्चा पनि चलिरहेको छ तर हाम्रो पार्टी कुनै पनि दलसँग मिलेर जाने होइन, स्वस्थ प्रतिस्पर्धा गरेर जाने मान्यतामा छ।

अहिले कांग्रेस–एमालेसँग सहकार्य गर्नेभन्दा पनि नेकपा एक्लै चुनावमा जानुपर्छ। राष्ट्रियसभा सदस्य निर्वाचनले पनि यही देखाएको छ। मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने वामपन्थीहरुको एकता हुनुपर्छ। जनताले पनि वामपन्थीहरुबिच एकता खोजेका छन्।
केपी ओली र पुष्पकमल दाहालको मनमा के छ थाह छैन तर वामपन्थी नेता र कार्यकर्ताले यही चाहेका छन् तर अहिले नै यो सम्भव म देख्दिनँ। किनकी पुष्पकमल दाहाल दिल्ली जाने बेलामा केपी ओलीसँग भेटघाट भएको थियो। त्यो भेटघाट फलदायी हुने अपेक्षा गरिएको थियो तर राष्ट्रियसभाको निर्वाचनमा भएको उम्मेदवारी दर्ताले फलदायी भएको देखाउँदैनन्। राजनीतिक रुपमा पुष्पकमल दाहार र केपी ओलीबिच कुराकानी हुनु आवश्यक छ। निर्वाचनमा मिल्ने हो भने वामपन्थीहरु नै मिल्नुपर्छ, होइन भने एक्लाएक्लै चुनावमा जानुपर्छ।(नेकपाका नेता महेश्वर दाहालसँगको कुराकानीमा आधारित)
प्रकाशित: २४ पुस २०८२ ०६:२५ बिहीबार





