नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले आफ्नो भूमिका पार्टी मिलाउने रहेको बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू कुनै एक गुटमा नभई समग्र कांग्रेसको एकताको पक्षमा रहेको स्पष्ट पारेका हुन्।
महामन्त्रीद्वयको नेतृत्वमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलबाट बाहिरिएर सिधै संस्थापन पक्षको बैठक स्थल सानेपा पुगेका नेता भण्डारीले सञ्चारकर्मीहरूसँग भने, ‘हामी मिल्यौं भने सबैको भविष्य राम्रो हुन्छ, मिलेनौं भने सबैलाई अप्ठ्यारो हुन्छ। देशको भविष्य बन्छ भने सबैको भविष्य बन्छ।’
उनले थपे, ‘कांग्रेस मेरो हो, देश मेरो हो। त्यसकारण मेरो दायित्व कांग्रेस मिलाउने हो। म यता (संस्थापन) पनि हो, उता (विशेष महाधिवेशन) पनि हो।’
उनले आफूले शस्त्र नभई शास्त्र सिकाउने भन्दै अवसर पाएकाहरूले मौन बस्न नहुने तर्क गरे। ‘हिजो जसले अवसर पायो, अब तिमी के गर्छौं भन्दा मौन बस्दिने ? त्यसो गर्न पाइँदैन, बोल्नुपर्छ,’ भण्डारीले भने।
यसअघि नेता भण्डारी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी भएका थिए। त्यहाँबाट बाहिरिएलगत्तै उनी सानेपा पुगेका हुन्।
पार्टी विभाजन हुन नहुने पक्षमा वकालत गर्दै आएका भण्डारीले पछिल्लो जेन-जी आन्दोलनको सन्देशलाई आत्मसाथ गर्दै कांग्रेसमा रूपान्तरण आवश्यक रहेको तर त्यो एकतासहित हुनुपर्नेमा जोड दिँदै आएका छन्।
हेर्नुहोस् भिडियो:
प्रकाशित: २९ पुस २०८२ १७:२७ मंगलबार





