राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट निष्कासित पूर्व महामन्त्री डा.मुकुल ढकाल पछिल्लो समय सामाजिक सञ्जालमा ‘राजावादी लाइन’मा प्रस्तुत हुन थालेका छन्। जेन–जी आन्दोलनयताका दिनमा ढकालका अभिव्यक्तिमा प्रस्टै राजावादी लाइन देखिन्छ।
मुकुलले भदौ २४ गते राजा महेन्द्र शाहको कविता सेयर गरेका छन्। त्यसपछि दोस्रो दिन भदौ २५ मा ‘राष्ट्र जोगाउन राजाबाहेकको विकल्प नरहेको’ भन्दै फेसबुकमा स्टाटस लेखेका छन्।

भदौ २६ गते फेरि अर्को स्टाटस राखेर उनले ‘प्रजातन्त्र मर्दैन, ढुक्क हुनुहोस् । जे जे हुनेवाला छ, राष्ट्र जोगाउनलाई हुनेछ । उचित समयमा निर्वाचनको माध्यमबाट जनताले छानेको प्रधानमन्त्रीले नै शासन व्यवस्था चलाउनेछन्,’ भनेर लेखेका छन्। त्यो दिन नेपाली सेनाले ‘सैनिक बलमा कतै राजसंस्था फर्काउने त होइन?’ भन्ने आशंका चलिरहेको थियो।
भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्दा संविधान जोगाएको भन्ने प्रसंगमा पनि उनले लामो स्टाटस राख्दै राजावादी लाइन दिएका छन्।

शुक्रबार फेरि रास्वपा ‘जान्नेलाई छान्ने’ नारालाई उल्लेख गरेर ‘राष्ट्रपति भन्दा राजा नै जान्ने’ भन्ने आशय झल्किने अर्को स्टाटस राखेका छन्।

प्रकाशित: ३ आश्विन २०८२ २१:१५ शुक्रबार





