२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कपिलवस्तुका १० स्थानीय तहमा १८ करोडभन्दा बढी बेरुजु

कपिलवस्तुका १० पालिकामा १८ करोडभन्दा बढी बेरुजु औंल्याइएको छ। आर्थिक वर्ष २०८१/८२ मा बजेट अनियमित तवरले खर्च गरिएपछि १८ करोड २४ लाखभन्दा बढी बेरुजु देखिएको हो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार जिल्लाका १० स्थानीय तहले १८ करोड २४ लाख १९ हजार रुपैयाँ अनुशासनविपरीत खर्च गरेको उल्लेख छ।

१० स्थानीय तहको १९ अर्ब ७३ करोड ६१ लाख २८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो। सबैभन्दा धेरै बेरुजु यसोधरा गाउँपालिकामा र सबैभन्दा कम बेरुजु बाणगंगा नगरपालिकामा रहेको छ।

यसोधरा गाउँपालिकाको १ अर्ब ३९ करोड ३९ लाख ९ हजार रुपैयाँको लेखापरीक्षण भएकोमा ३.१७ प्रतिशत अर्थात् ४ करोड ४१ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको छ।

यस्तै, विजयनगर गाउँपालिकाको बेरुजु १.७६ प्रतिशत रहेको छ। विजयनगरको १ अर्ब ४७ करोड ७१ लाख १२ हजार रुपैयाँ परीक्षण गर्दा २ करोड ५९ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ।

शुद्धोधन गाउँपालिकाको १ अर्ब ३७ करोड ५८ लाख ७९ हजार रुपैयाँ परीक्षण गर्दा १ करोड ६४ लाख ७६ हजार रुपैयाँ अर्थात् १.२ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ। शुद्धोधन गाउँपालिका बढी बेरुजु हुने पालिकामध्ये तेस्रो स्थानमा रहेको छ।

मायादेवी गाउँपालिकाको १ करोड ७२ लाख ७५ हजार रुपैयाँ बेरुजु रहेको छ। १ अर्ब ६४ करोड ६२ लाख ७५ हजार रुपैयाँ परीक्षण भएकोमा १.०५ प्रतिशत बेरुजु देखिएको छ।

शिवराज नगरपालिकाको बेरुजु ०.७५ प्रतिशत रहेको छ। २ अर्ब ३० करोड ३५ लाख ६८ हजार रुपैयाँ परीक्षण गरिएकोमा १ करोड ७३ लाख ६८ हजार रुपैयाँ महालेखा परीक्षकको कार्यालयले बेरुजु ठहर गरेको छ।

कपिलवस्तु नगरपालिकाको २ अर्ब ३० करोड ८० लाख ५९ हजार रुपैयाँ परीक्षण गर्दा ०.६८ प्रतिशत अर्थात् १ करोड ५६ लाख ८४ हजार रुपैयाँ बेरुजु देखिएको छ।

यसैगरी, कृष्णनगर र महाराजगञ्ज नगरपालिकाको बेरुजु समान ०.६१ प्रतिशत रहेको छ। कृष्णनगर नगरपालिकाको १ अर्ब ८७ करोड २४ लाख ९९ हजार रुपैयाँ परीक्षण गर्दा १ करोड १४ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको छ।

महाराजगञ्ज नगरपालिकाको १ अर्ब ९९ करोड ८७ लाख ९० हजार रुपैयाँ परीक्षण गर्दा ०.६१ प्रतिशत अर्थात् १ करोड २१ लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको छ।

बुद्धभूमि नगरपालिकाको २ अर्ब २५ करोड ९८ लाख ७४ हजार रुपैयाँ परीक्षण गर्दा ०.५८ प्रतिशत अर्थात् १ करोड ३० लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ।

बाणगंगा नगरपालिकाको ३ अर्ब १० करोड १ लाख ६३ हजार रुपैयाँ परीक्षण गर्दा ८८ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको छ। बाणगंगाको ०.२९ प्रतिशत बेरुजु रहेको छ।

प्रकाशित: ५ जेष्ठ २०८३ १९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App