२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

ओलीलाई नेतृत्वमा रहन नैतिक संकट

जेन-जी विद्रोहपछि भएको आम निर्वाचनमा एमालेलाई ठुलो धक्का लागेको छ। यस पार्टीका अध्यक्ष केपी शर्मा ओली झापा–५ मा ठुलो मतान्तरले पराजित भएका छन्। त्यस क्षेत्रबाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह विजयी भएका छन्।

झापा–५ मा एक लाख ६ हजार ३७२ मत खसेकोमा बालेनले ६८ हजार ३४८ मत पाए। बालेन्द्रलाई पछ्याएका ओलीले १८ हजार ७३४ मत मात्र पाए। उनीहरूबिचको मतान्तर ४९ हजार ६१४ छ । झापामा ओली मात्र होइनन्, उनले नेतृत्व गरेको दल एमालेले समेत शर्मनाक पराजय बेहोरेको छ।

समानुपातिकमा समेत एमालेको मत कम आउने संकेत देखिएको छ। एमालेभित्र ओलीको कार्यशैलीको आलोचना गर्नेहरूले दण्डित हुनुपर्थ्याे तर यसपटक त्यही पार्टीका अध्यक्ष ओली र उनका वरिपरि रहेकाहरूले जनताबाट दण्डित हुनुपर्ने अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा ओलीबाट सामाजिक सञ्जालमा बालेन्द्रलाई विजयका लागि बधाई दिनेबाहेक शनिबार रातिसम्म कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन।

काठमाडौं महानगरपालिकाको मेयरमा जितेपछि बालेन्द्रलाई तबला उपहार दिँदै गरेको तस्बिर राखेर ओलीले शनिबार साँझ फेसबुकमा लेखेका छन्, ‘बालेन बाबु, विजयका लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल सफल रहोस्, हार्दिक शुभकामना।’

एमाले महासचिव शंकर पोखरेलले बालेन्द्रलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भनिसकेका छन्। उपाध्यक्ष विष्णु पौडेलले पनि नेतृत्वमा समीक्षा गर्ने बताइसकेका छन् । उनले अब ओलीको नेतृत्वमा पार्टी चल्न नसक्ने संकेत गरेका छन्।

एमालेको विशेष महाधिवेशनबाट तेस्रो कार्यकाल अध्यक्ष बनाउने प्रस्ताव गर्दै ११औं महाधिवेशनपछि अध्यक्ष बनेका ओलीलाई अब नैतिक रूपमा पार्टी सञ्चालन गर्ने अधिकार नभएको भन्दै कार्यकर्ताहरूले औंला ठड्याउन थालेका छन्।

देशका विभिन्न भागबाट एमालेका कार्यकर्ताहरूले नैतिक रूपमा नेतृत्वले जिम्मा लिनुपर्ने भन्दै मुख खोल्न थालेका हुन्। आफ्नै क्षेत्रमा पार्टी सबैभन्दा कमजोर हुँदा अध्यक्षमाथि ठुलो प्रश्न उठेको बताउन थालिएको छ। उनीहरूले विगतमा पार्टी ३३ सिटमा खुम्चिँदा तत्कालीन महासचिव माधव नेपालले नैतिक जिम्मेवारी लिएर नेतृत्व छाडेको प्रसंगसमेत जोडेका छन्।

ओलीले पार्टीको नेतृत्व चयनदेखि टिकट वितरणसम्म नेताहरूमाथि गरेको अन्यायका कारण पनि कार्यकर्तामा चरम निराशा उत्पन्न भएको र अहिले जनादेशले पनि त्यही प्रतिविम्बित गरेको कार्यकर्ताहरूले जनाएका छन्।

२०६४ चैत २८ गते सम्पन्न पहिलो ऐतिहासिक संविधानसभाको निर्वाचनमा जनताले तत्कालीन नेकपा माओवादीलाई अभूतपूृर्वक समर्थन गर्दै पहिलो पार्टी बनाएका थिए।

उक्त निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले १२०, कांग्रेसले ३७, एमालेले ३३, मधेसी जनाधिकार फोरमले ३० जितेका थिए । त्यतिबेला करिब एक करोड ७५ लाख मतदाता थिए। ५७५ मध्ये समानुपातिकसहित २२० सिट जितेर प्रथम स्थान हासिल गरी माओवादी संविधानसभाको सबैभन्दा ठुलो दल बनेको थियो। त्यसपछि कांग्रेसले ३७ प्रत्यक्षसहित ११० र एमालेले ३३ प्रत्यक्षसहित १०३ सिट प्राप्त गरेका थिए। महिनौको सत्ता साझेदारी र छलफलपछि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६५ भदौ २ गते नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। नयाँ संविधान निर्माण गर्न असफल भएपछि उक्त संविधानसभाको २०६९ जेठ १५ गते चार वर्षको म्याद थप गरिएको थियो।

त्यही बेला एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालसहित शीर्ष नेताहरूले पराजय बेहोरेका थिए । त्यतिबेला एमाले शीर्ष नेताहरूमध्ये झलनाथ खनालले मात्रै चुनाव जितेका थिए। उनले पार्टी सबैभन्दा सानो बनेपछि नैतिकताका आधारमा महासचिवबाट राजीनामा दिएका थिए। उनले त्यतिबेला महासचिवबाट राजीनामा दिएको विषयमा राजनीतिमा नैतिकता भएको नेताका रूपमा आफूलाई परिचित गराउने अवसर लिएका थिए। एमाले अध्यक्ष ओलीले यही विषयलाई ध्यानमा राखेर पार्टी नेतृत्व दोस्रो पुस्ताका नेताहरूमा सुम्पनुपर्ने आवाज उठ्न थालेको छ।

प्रकाशित: २४ फाल्गुन २०८२ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App