२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

विश्वकप फाइनल: १५ ओभरमै भारतको २०० रन पार

आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि भिडन्तमा न्युजिल्यान्डविरुद्ध भारतले विशाल योगफल खडा गर्दैछ। अहमदाबादमा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको घरेलु टोली भारतले १५ ओभरको खेल सकिँदा १ विकेट गुमाएर २ सय ३ रनको बलियो स्थिति तयार पारेको हो।

क्रिजमा रहेका सञ्जु सामसन र इशान किशनले विस्फोटक ब्याटिङलाई निरन्तरता दिँदै न्युजिल्यान्डका बलरमाथि चर्को दबाब सिर्जना गरेका छन्।

ओपनिङमा आएका सामसन शतकनजिक पुगेका छन्। उनले ४५ बलमा ५ चौका र ८ छक्कासहित अविजित ८९ रन जोडेका छन्। त्यसैगरी, किशनले २४ बलमा ४ चौका र ४ छक्काको मद्दतमा अविजित ५४ रन बनाएका छन्।

किशनले मात्र २३ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए। यी दुई ब्याटरबीच दोस्रो विकेटका लागि ४५ बलमै सय रनको आक्रामक र महत्वपूर्ण साझेदारी भएको पाइएको छ।

यसअघि अर्का ओपनर अभिषेक शर्माले पनि उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए। उनले २१ बलमा ६ चौका र ३ छक्कासहित ५२ रन बनाएर पभेलियन फर्किएका हुन्।

शर्मालाई ७ दशमलव १ ओभरमा टिमको स्कोर ९८ रन हुँदा रचिन रविन्द्रले विकेटकिपर टिम सेइफर्टको हातबाट क्याच गराउँदै न्युजिल्यान्डलाई पहिलो सफलता दिलाएका थिए।

पहिलो विकेट पतन भए पनि भारतको रन गतिमा कुनै कमी आएन। भारतले ७ दशमलव २ ओभरमा सय रन र १४ दशमलव ६ ओभरमै २ सय रनको आँकडा पार गरेको थियो।

भारतीय ब्याटरको आक्रामकतासामु न्युजिल्यान्डका सम्पूर्ण बलर निरिह देखिएका छन्। तीव्र गतिका बलर लोकी फर्गुसनले २ ओभरमै ४८ रन खर्चिएका छन् भने ज्याकव डफीले २ ओभरमा ३५ रन दिएका छन्।

म्याट हेनरीले ३ ओभरमा ३८ रन र कप्तान मिचेल सान्टनरले ४ ओभरमा ३३ रन दिएको अवस्था छ। एकमात्र विकेट लिएका रविन्द्रले २ ओभरमा ३२ रन खर्चिएका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ २०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App