११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मिराजले भने- यो कामचोर सरकार हो

जेन-जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकार पूर्णतः असफल भएको दाबी गरेका छन्।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकारलाई ‘कामचोर’ को संज्ञा दिए।

सरकार प्रति असन्तुष्टि जनाउँदै ढुंगानाले भने, ‘आजसम्म उदाहरणीय सरकार नै देखिनँ। यो कामचोर सरकार हो। केही काम नगर्ने सरकार हो। प्रधानमन्त्री खानलाई मात्र उहाँ प्रधानमन्त्री हुनुभएको हो त ? तपाईंलाई कसले बनायो ? कसको छातीमा चढेर प्रधानमन्त्री हुनुभएको ? देशलाई निकास र स्थिरता दिनुहुन्न ?’ उनले प्रश्न गरे।

प्रधानमन्त्री कार्कीले निर्वाचनको ‘रट’ लगाएको विषयमा टिप्पणी गर्दै ढुंगानाले भने, ‘सुशिला कार्कीज्यू किन चुनावको रट लगाउनुहुन्छ ? एउटा ‘काले’ लाई हटाएर ६ महिनापछि त्यही ‘काले’ लाई फेरि फिर्ता ल्याउनलाई नै हो त ? यत्रो ज्यान गुमेको, सिंहदरबार र सर्वोच्च जलेको त्यसैका लागि थियो त ?’

उनले पुरानै संयन्त्र र पात्रहरु कायम राखेर गरिने निर्वाचनले देशलाई राजनीतिक निकास नदिने जिकिर गरे। दल खोलेर निर्वाचनमा जाने र थोरै सिट जितेर २० वर्षपछि माग पूरा गर्ने बाटो आफूहरुलाई स्वीकार्य नहुने भन्दै उनले आन्दोलनका माग सरकारले नै पूरा गर्नुपर्नेमा जोड दिए।

यसअघि भएको सम्झौतालाई ‘ललिपप सम्झौता’ को संज्ञा दिँदै आफूहरुले त्यसको विरोध गरेको स्मरण गरे। उनले भने, ‘हामीले एकदम सरल र सोझो ढंगमा आफ्नो कुरा राख्दा सिंहदरबार जानै प्रतिबन्ध लगाउनुभयो।’

देशको अवस्था आन्दोलन सुरु हुँदाको समय भन्दा पनि अहिले झन् गम्भीर र विध्वंसक बनेको उनको भनाइ छ। रोहिंग्या शरणार्थीहरु देशमा छिरिसकेको दाबी गर्दै उनले शान्ति सुरक्षामा सरकार चुकेको बताए।

ढुंगानाले भने, ‘काम नै नगर्ने, जनतालाई थाङ्नामा सुताउन खोज्ने ? यो त भएन।’

यो पनि पढ्नुहोस्

मिराज ढुंगानाले गरे सरकारको विकल्प खोज्दै आन्दोलनको घोषणा

प्रकाशित: ६ पुस २०८२ १५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App