२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

कर्मचारीको कार्यशैली सुधार्न सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफू र मातहतका निकायमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन नौबुँदे आचारसंहिता र प्रतिबद्धतापत्र लागू गरेको छ

कार्यालयको सेवा प्रवाहलाई छिटो, छरितो र उत्तरदायी बनाउन मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो।

नयाँ आचारसंहिताअनुसार कर्मचारीहरूले आफ्नो डेस्क वा सिस्टममा आएका कामहरू सकेसम्म सोही दिन वा ढिलोमा भोलिपल्टसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ।

कुनै द्विविधा वा विलम्ब हुने अवस्था आएमा समयमै आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन अब कर्मचारीले सेवा प्रदान गर्दा वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेछ।

कार्यालयको अनुशासन कायम गर्न कर्मचारीले निर्धारित समयमै हाजिर हुनुपर्ने र सकेसम्म पूर्वस्वीकृति विना अनुपस्थित हुन नपाइने नियम बनाइएको छ।

त्यस्तै, कार्यालयमा रहँदा सबैले देख्ने गरी परिचयपत्र लगाउनुपर्ने र कार्यालयको प्रतिनिधित्व गर्दा तोकिएको पोसाक अनिवार्य लगाउनुपर्नेछ।

कुनै टिप्पणी, पत्र वा निर्णय उठान गर्ने कर्मचारी स्वयंले आफ्नो कामको ‘ट्र्याकिङ’ वा ‘फलोअप’ गरी सुपरिवेक्षकलाई अद्यावधिक गराउनुपर्ने व्यवस्था आचारसंहितामा समेटिएको छ।

यसका साथै स्रोतसाधनको मितव्ययी प्रयोग र आफ्नो कार्यकक्षको सरसफाइमा ध्यान दिनसमेत निर्देशन दिइएको छ।

मन्त्रालयले संविधान र प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्ने सर्तसहित जारी गरेको आचारसंहितालाई कार्यान्वयनमा ल्याउन कर्मचारीबाट लिखित प्रतिबद्धता नै गराउने भएको छ। जसका लागि तयार पारिएको ढाँचामा प्रतिबद्धता जनाउने कर्मचारी र गराउने अधिकारी दुवैको हस्ताक्षर तथा मिति अनिवार्य गरिएको छ।

प्रकाशित: २ वैशाख २०८३ १५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App