२ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

सिटी सफारी दुर्घटना हुँदा बालकको निधन, दुई घाइते

उदयपुरमा सवारी दुर्घटनामा परि घाइते भएका बालकको निधन भएको छ।

मंगलबार दिउँसो मदन भण्डारी लोकमार्ग अन्तर्गत जिल्लाको उदयपुरगढी गाउँपालिका-७ जोगीटोलमा भएको सिटी सफारी दुर्घटना परि घाइते भएका तीनमध्ये चार वर्षीय बालकको उपचारका क्रममा निधन भएको हो।

उदयपुरकै नेपालटारबाट गाईघाटतर्फ आउँदै गरेको कोशी प्रदेश ०५००१ ह ०६८५ नं को सिटी सफारी ओरालो घुम्ती सडकमा आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा रौतामाई गाउँपालिका-७ मुर्कुचीका दिपक मग्रातीका चार वर्षीय सुरज मग्रातीसहित ३ जना घाइते भएका थिए।

दुर्घटनामा परेका सफारी चालक त्रियुगा नगरपालिका-३ भुल्केका ३४ वर्षीय जयराम चौधरी दिपक मंग्राती र उनका छोरा सुरजलाई उद्धार गरि उपचारार्थ जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो। तर, जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो।

न्युरोमा उपचारकै क्रममा घाइते बालकको बुधबार बिहान निधन भएको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृतक बालकको शवको पोस्टमार्टमलगायत अन्य कानुनी प्रकृया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरिएको प्रहरीले जनाएको छ।

घाइतेहरू चालक चौधरी र मग्राती भने उपचारपछि घर फर्किसकेका छन्। घटनास्थलबाट अस्थायी प्रहरी पोष्ट संगमचोकको टोलीले सिटी सफारी नियन्त्रयमा लिएर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।  

प्रकाशित: २ वैशाख २०८३ १९:३६ बुधबार