२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

संसद भवनको काम कार्यतालिका बमोजिम गर्न मन्त्री सिंहको निर्देशन

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको काम कार्यतालिका अनुसार गर्न निर्देशन दिएका छन् ।

निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई यस्तो निर्देशन दिएका हुन् ।

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको चन्दै उपप्रधानमन्त्री सिंहले भने ,'कुनै हालतमा काम हुनैपर्छ । समन्वयात्मक रूपमा अघि बढ्नुहोस् । कन्ट्राक्टरले दिएको कार्यतालिका बमोजिम काम गर्नुहोस्।' उनले संसद भवनकै कारण मन्त्रालयको पर्फमेन्समा प्रश्न उठेको भन्दै केहि समस्या परे मन्त्रालयले समन्वय गर्ने भन्दै काममा आलटाल स्वीकार्य नहुने बताए । सिंहले निर्माण कम्पनीलाई  नियमित प्रगति विवरण पेश गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न  निर्देशन पनि दिए ।  

आजको बैठकमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, विशेष भवनका आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता थियो । बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद भवनको हालसम्मको प्रगति र अवस्था बारेमा जानकारी गराए । 

साइट वरिपरि बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटेरीको काम, आन्तरिक सजावटको, कन्फरेन्सिङ काम लगायतका कामहरू बाँकी रहेको उनले बताए । निर्माण व्यवसायीले आवश्यक भन्दा न्यून कामदार लगाएको र काम बाँडेर हरेक दिनको काम गर्ने तालिका दिएको तर त्यो अनुसार काम नगरेको भन्दै असन्तुष्टि जनाए । निर्माण व्यवसायीले धेरै काम सम्पन्न भइसकेको भन्दै तालिका अनुसार काम अघि बढाउन प्रतिबद्ध रहेको बताए ।

संसद भवनको पुस अन्तिम सातासम्म निर्माण सम्पन्न गर्ने म्याद छ ।

प्रकाशित: ३ भाद्र २०८२ १७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App