२१ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन सुरक्षामा सेना परिचालन

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना बुधबारदेखि परिचालन हुनेछ। निर्वाचन हुन ठिक एक महिना बाँकी हुँदा सेना मैदानमा खटिन लागेको हो। निर्वाचन सुरक्षाका लागि बुधबारबाट सेना खटिन लागेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख एवं नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए। एकीकृत निर्वाचन सुरक्षा योजना– २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार सेना परिचालन हुन लागेको हो।

सरकारले निर्वाचन सुरक्षार्थ ७९ हजार ७२७ जना सैनिक परिचालन गर्ने निर्णय गरेको छ। यस अवधिमा सशस्त्र प्रहरी बलले सुरक्षा गरिरहेका सार्वजनिक भवन, कारागार, विमानस्थल तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ।

गत कात्तिकमा दलहरूले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्ने सर्त राखेपछि निर्वाचन आयोगले भरपर्दो सुरक्षा सुनिश्चित गर्न सेनासहित चार वटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्न सरकारलाई आग्रह गरेको थियो।

निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समिति बैठकले सिफारिस गरेपछि मंसिर ११ मा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका थिए। सेनाका अनुसार आवश्यकता हेरी गस्ती र एरिया पेट्रोलिङ गर्ने तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाका आधारमा संयुक्त गस्ती पनि हुनेछ।

असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ तर्जुमा गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले कात्तिक ३० मा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पारित भएको थियो। त्यसअनुसार नै सेना परिचालनसँगै सुरक्षासम्बन्धी अन्य तयारीको प्रबन्ध गरिएको हो।

निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी तीन लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ। निर्वाचन सुरक्षामा सेनाका ७९ हजार ७२७ जना, नेपाल प्रहरीका ७५ हजार ५९७ जना, प्रहरीमातहत रहने गरी एक लाख ३० हजार ९८० निर्वाचन प्रहरी मैदानमा खटिने छन्।

सशस्त्र प्रहरी बलका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी र सशस्त्रमातहत १५ हजार ११० निर्वाचन प्रहरीलाई परिचालन गरिनेछ। एक हजार ९२१ जना गुप्तचर पनि निर्वाचन सुरक्षामा खटिनेछन्। निर्वाचन प्रहरीमा भर्ना गरिएकालाई तालिम दिन थालिएको छ।

प्रदेशको जनसंख्या र निर्वाचन क्षेत्रको संवेदनशीलतालाई आधार मानेर प्रहरी खटाउने तयारी छ। नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार निर्वाचनका बेला आवश्यकताअनुसार पहिलो, दोस्रो र तेस्रो घेरामा निर्वाचन प्रहरीसहित जनशक्ति परिचालन गरिनेछ। सामान्य, संवेदनशील र अति संवेदनशील अवस्थाका आधारमा प्रहरीको संख्या बढाइने पनि उनको भनाइ छ।

उनका अनुसार एउटै मतदानस्थलमा औसत १३ वटा मतदान केन्द्र रहने र त्यहाँ प्रहरी तथा निर्वाचन प्रहरी गरी औसतमा ८० जनासम्म खटिनेछन्। सेना र प्रहरीले मतपेटिका, उम्मेदवार, मतदाता तथा मतदान अधिकृतको सुरक्षा सुदृढ बनाउने गरी तयारी गरिरहेको जनाएका छन्।

निर्वाचनमा मतपेटिकाको सुरक्षाका लागि पहिलो र दोस्रो घेरामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी रहनेछन् भने तेस्रो घेरामा नेपाली सेना र सशस्त्र प्रहरी बल तैनाथ हुनेछ। यसपटक नेपाली सेनाले मतपेटिकाको पनि सुरक्षा गर्नेछ।

प्रजिअहरूलाई गृहको निर्देशन

यसैबिच गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी देशसँग सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूलाई समन्वय गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले सीमा जोडिएका जिल्लाका प्रजिअहरूलाई मंगलबार भारत र चीनसँगका समकक्षीसँग समन्वय गर्न निर्देशन दिएको हो।

गृह सचिव राजकुमार श्रेष्ठले प्रजिअहरूसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारीसाधन र मतपेटिका ढुवानीलगायत विषयमा छलफल गर्दै यस्तो निर्देशन दिएका थिए।

बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, होली पर्वको समयमा उच्च सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्नेलगायत विषयमा गहन छलफल गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

२३ हजार ११२ मतदान केन्द्र

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मत दिन पाउने भएका छन्। कुल मतदातामध्ये पुरुषको संख्या ९६ लाख ६३ हजार ३५८ र महिला को संख्या ९२ लाख ४० हजार १३१ छ। अन्य मतदाताको संख्या भने २०० छ। निर्वाचन आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिक मतदाता सूचीमा समावेश हुन पाउने भएका छन्।

फागुन २१ को निर्वाचनमा ७७ वटा जिल्लाका १६५ निर्वाचन क्षेत्रमा देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगकले तीन वटै भूभाग र सबै जिल्लाका लागि मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन पूरा गरेको जनाएको छ। जसमा हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा कम मतदाता भए पनि आवश्यक रूपमा मतदान केन्द्र तोकिएको छ।

आयोगका अनुसार सबैभन्दा धेरै मतदाता रापेछापमा छन् भने रूपन्देही, मोरङ, झापा, धनुषा, कैलाली, दाङ, काभ्रेपलाञ्चोकलगायत जिल्लामा एक निर्वाचन क्षेत्रमा एक लाखभन्दा बढी मतदाता रहेको आयोगले जनाएको छ।

सेनाले हवाई गस्ती पनि गर्छ

- राजाराम बस्नेत,  प्रवक्ता, नेपाली सेना

राजाराम बस्नेत,  प्रवक्ता, नेपाली सेना

 

निर्वाचनको एक महिनाअघि सेना खटिने एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ ले स्वीकृत गरेको कार्यविधिमा उल्लेख छ। सोहीअनुसार बुधबारबाट नेपाली सेना खटिनेछ। सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान विभागसँग पनि समन्वय गरेको छ।

समन्वयका आधारमा सेना परिचालन हुनेछ। यसक्रममा संयुक्त गस्ती गर्ने, निर्वाचन इलाकाहरूमा पोस्ट खडा गर्ने, महत्त्वपूर्ण भौतिक संरचनाको सुुरक्षा गर्ने जिम्मेवारी सेनाको हो। स्थानीय प्रशासन, निर्वाचन अधिकृत र अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय गरी तेस्रो घेरामा रहेर सेनाले सुरक्षा प्रदान गर्छ। त्यसबाहेक नेपाली सेनाले हवाई गस्तीसमेत गर्नेछ।

प्रकाशित: २१ माघ २०८२ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App