निर्वाचनका बेला सबैभन्दा बढ्ता महत्त्व तिनै व्यक्तिको हुन्छ, जो मत दिन तयार छन्। विभिन्न भाका र बान्कीका उम्मेदवार आफूलाई मत दिन तिनीहरूकहाँ पुग्छन्। उम्मेदवारले मत माग्न जानु स्वाभाविक हो। यस्तो बेलामा सर्वसाधारणले अनेकन् प्रश्न आफ्ना उम्मेदवारलाई सोध्छन्। वास्तवमा आफूले मत दिने क्षेत्रका उम्मेदवार कस्ता रहेछन् र तिनका विशेषता के हुन् भन्नेबारे सर्वसाधारण जानकार हुनैपर्छ। ती उम्मेदवारको दल कस्तो छ? तिनले लिएको नीति के हो? घोषणापत्रमा के भनिएको छ? जस्ता अनेकन् प्रश्नमा आममतदाताले घोत्लिनुपर्ने बेला हो।
निर्वाचनमा मत दिने र माग्नेभन्दा पनि फरक अर्को एउटा समुदाय छ, जसले मतको विश्लेषण गर्न चाहन्छ। त्यसलाई मतको प्रवृत्ति कस्तो रहला भन्ने जिज्ञासा भइरहन्छ। मतदाताको रुझान पत्ता लगाएर त्यसबारे विश्लेषण गर्ने पक्ष पनि हुन्छ। त्यति मात्र होइन, पछिल्ला निर्वाचनहरूमा संसारभरि नै सामाजिक सञ्जालमा प्रकाशन हुने अनेकन् किसिमका भिडियो र सामग्रीले मतलाई प्रभावित गर्छन्। विशेष गरी एकथरी उम्मेदवारको मत बढाउने गरी निरन्तर यस्ता सामग्री सामाजिक सञ्जालमा फैलिइरहेका छन्। अलगोरिदमका कारण केही उम्मेदवारका सामग्री निरन्तर रूपमा मतदाताका मोबाइल स्क्रिनमा देखिन्छन्। यस्तो अवस्थामा नयाँ उम्मेदवारसम्बन्धी यस्ता सामग्री त्यो अलगोरिदमको पर्खाल नाघेर सर्वसाधारणका स्क्रिनमा देखिनै समय लाग्छ। तर, एकोहोरो रूपमा आइरहने यस्ता सामग्रीले मतदातामा प्रभाव पर्ने निश्चित छ।
यसकारण अहिले निरन्तर चुनावी प्रश्न मतदातालाई गर्ने र त्यस्ता सामग्री सञ्जालमा राख्ने प्रवृत्ति बढ्दो छ। तारन्तारका यस्ता प्रश्नले मतदाता भने आजित भइरहेको देखिएको छ। प्रश्नकर्ताले पनि तिनको गोप्य मतदानलाई सार्वजनिक गर्ने गरी प्रश्न सोध्दै आएका छन्। हो, केही सर्वसाधारण निरन्तर कसैका मतदाता रहेका हुन सक्छन्। स्थानीय स्तरमा कसले कसलाई मत देला भन्ने अनुमान गर्न नसकिने पनि होइन। तैपनि मतदानको बिहानसम्म पनि विचार बदलिने अवस्था रहन्छ। यसकारण पनि कसलाई मत दिने भन्ने प्रश्न गर्दा तिनलाई अप्ठ्यारो लाग्नु स्वाभाविक हो।
हामीकहाँ मतदाताको रुझान थाहा पाउन सर्वेक्षण गर्न रोक लगाइएको छ। यसरी रोक लगाउनुको कारण कसैले जित्दै छ भन्ने अग्रिम यस्ता सूचनाले अरूको मत प्रभावित हुन सक्छ। एकभन्दा बढी चरणमा निर्वाचन हुँदासमेत पछिल्लो चरणको मत परिणामलाई असर पर्ला भनी मतगणना नगरी राख्ने गरिएको छ। सर्वेक्षण वा अनुसन्धानका हिसाबले मतदाताको रुझान थाहा पाउन खोजिएको हो भने पनि त्यसलाई सामाजिक सञ्जालमा राख्दा गोपनीयता रहँदैन। गोपनीयता कायम राखेर नै यस्ता अनुसन्धान गर्नुपर्छ तर आजको दिनमा प्रत्येक व्यक्तिका हातमा मोबाइल रहने भएका कारण कसैले पनि यसलाई दुरुपयोग गर्न र निर्वाचनमा प्रभावित पार्न सक्ने अवस्था रहन्छ। आफूलाई मन परेका व्यक्तिको पक्षमा मत प्रभावित गर्न यस्ता सामग्रीको दुरुपयोग हुन्छ।
मतदातालाई ‘कुन चुनाव चिह्नमा मतदान गर्दै हुनुहुन्छ? यो क्षेत्रका लागि कसलाई पठाए हुन्छ? वा अघिल्लो निर्वाचनमा कसलाई मतदान गर्नुभयो? जस्ता प्रश्नले मतदाताको स्वतन्त्र निर्णयमाथि हस्तक्षेप गर्छन्। यस्ता प्रश्न सोधेर मतदाताका श्रव्यदृश्य सामग्री सार्वजनिक गर्नु उचित होइन। यसले सबै उम्मेदवारलाई प्रतिस्पर्धाको बराबरी अवसर दिँदैनन् तर यस्ता प्रश्न गरेर बनाएका भिडियो आदि सामग्री सामाजिक सञ्जालमा पर्याप्त देखिन्छन्। यसकारण कतिपय निर्वाचन क्षेत्रमा यस्ता सामग्री नबनाउन सूचनासमेत सार्वजनिक भएका छन्। निर्वाचन आचारसंहितका हिसाबले पनि मतदानभन्दा ४८ घण्टाअगाडि दलदेखि सञ्चारमाध्यमसम्म सबैलाई आचारसंहिता लागु हुन्छ।
सामाजिक सञ्जालमा भने यस्ता सामग्रीमा कुनै रोकतोक लाग्ने अवस्था छैन। देशभित्रका सञ्चारमाध्यमलाई आचारसंहिता लाग्ने तर सामाजिक सञ्जालहरू सञ्चालन गर्ने ठुला प्रविधि कम्पनीलाई यसले कुनै असर नपार्ने अवस्था छ। त्यसैले मतदानको केही घण्टाअगाडिसम्म सामाजिक सञ्जालमा आउने सामग्रीले यसपटकको निर्वाचनमा अत्यधिक प्रभाव पार्न सक्ने अवस्था छ। सामाजिक सञ्जालमा लोकप्रिय हुने र यस्ता सामग्री सार्वजनिक गर्न सक्ने उम्मेदवारलाई यसले सजिलो बनाउने अवस्था छ।
सामाजिक सञ्जालमार्फत गोप्य मतदानको अधिकारलाई कुण्ठित गर्न खोज्नेहरूका सन्दर्भमा स्थानीय प्रशासन र प्रहरी कति सक्रिय हुन्छन्, त्यसले निर्वाचनको शुद्धता कायम गर्न सहयोग पुग्छ। आचारसंहिता उल्लंघन गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तामाथि स्थानीय प्रशासनले विशेष निगरानी गर्ने गरी संयन्त्र निर्माण गर्नुपर्ने हुन्छ। विगतका निर्वाचनमा यस्तो अवस्था कमै मात्रामा आउने गरेको हो। यस पटकको निर्वाचनमा भने यसलाई नियमन गर्न सकिएन भने ‘लोकप्रियतावाद’ले ठुलै असर पार्ने देखिएको छ। त्यसैले निर्वाचन आचारसंहिता पालना गर्न बनाइएका अनुगमन समितिले यसमा अहोरात्र काम गर्नुपर्ने देखिन्छ। निर्वाचनको शुद्धताबेगर सही नेतृत्व मुलुकले पाउने छैन।
प्रकाशित: २१ माघ २०८२ ०६:०१ बुधबार

