संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन-जी प्रतिनिधिसँग शुक्रबार हुने छलफलबारे देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरेको छ।
कार्यदलका संयोजक असिम साहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुसार जेन्जीलाई पनि छलफलका लागि आमन्त्रण गरिएको स्पष्ट पारेका छन्।
साँझ ५ बजेका लागि तय गरिएको छलफलबारे केही जेन-जी प्रतिनिधिले अघिल्लो सरकारसँग भएका सहमतिका विषयलाई लिएर असन्तुष्टि र बहिष्कारका कुरा उठाएपछि संयोजक शाहले त्यसको वास्तविकता प्रस्ट पारेका हुन्।
उनका अनुसार अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयनकै चरणमा छन् र जेन-जी परिषद् निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। संविधान संशोधनका लागि सुझाव सङ्कलन गर्ने विशेष तथा फरक उद्देश्यले यो छलफल आयोजना गरिएको भएकाले यसलाई अन्य विषयसँग नमिसाउन उनले आग्रह गरे।
कार्यदलले जेन्जीबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको जनाएको छ।
बोल्नका लागि समय कम दिइएको भन्ने जस्ता भ्रमपूर्ण प्रचार भइरहेकोप्रति संकेत गर्दै संयोजक शाहले कसैको आवाज पनि नजरअन्दाज नगरिने विश्वास दिलाए। उनले कुनै राजनीतिक विवाद वा भ्रमको पछि नलागी आफ्नो अधिकार र दायित्व सम्झेर छलफलमा सहभागी हुन निमन्त्रित सबै जेन्जीलाई अनुरोध गरेका छन्।
कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको थियो। यसक्रममा हालसम्म संविधानविद्, पूर्वप्रशासक तथा सञ्चार क्षेत्रका विज्ञसँग परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
शासकीय स्वरूप, निर्वाचन प्रणाली र सङ्घीयताजस्ता महत्त्वपूर्ण विषयमा साझा धारणा बनाउन सरकारको १०० बुँदे कार्यसूचीअनुसार यो प्रक्रिया अघि बढाइएको हो।
विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित कार्यदलले संविधानमा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्न जेन्जीको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएको छ।
यसअघि शुक्रबार बिहान जेनजी अभियन्ता माजिद अन्सारी, रक्षा बम लगायत जेनजी प्रतिनिधिहरूले छलफलमा सहभागी नहुने बताए थिए।
उनीहरुले नेपालको संविधान पूर्ण नभएको र समयानुकूल संशोधन आवश्यक रहेको उल्लेख गर्दै लोकतन्त्रलाई केवल लिखित कानुन नभई पारदर्शी, जवाफदेही र सहभागितामूलक प्रक्रियाबाट सुदृढ बनाउनुपर्ने माग गर्दै छलफलमा सहभागी नहुने बताएपछि कार्यदलले फेरि आह्वान गरेको हो ।
प्रकाशित: १ जेष्ठ २०८३ १५:१४ शुक्रबार





