नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पाँचौं महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।
वर्षौंदेखि तरुण दलसहित कांग्रेसका प्रमुख भ्रातृ संगठनका महाधिवेशनहरू भएका छैनन्। माउ पार्टीले महाधिवेशनका लागि औपचारिकता देखाए पनि भ्रातृ संगठनको अधिवेशन गराउन चासो नदिएको आरोप लागिरहेका बेला तरुण दलले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो।
आगामी मंसिर २६ देखि २८ गते सम्पन्न पाँचौं महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ। तर महाधिवेशन कहाँ गर्ने भन्ने उल्लेख गरिएको छैन। भदौ १५ गतेभित्र सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सक्ने र भदौभित्र सदस्यता स्वीकृत गरी क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गर्ने भनिएको छ।
कात्तिक २० गतेभित्र प्रदेश र संघीय निर्वाचन क्षेत्रका अधिवेशन गराउने कात्तिकभित्र जिल्ला र मंसिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने जनाइएको छ। तर माउ पार्टीको गुट विवादबाट अछुतो नरहेको तरुण दलले सार्वजनिक गरेको तालिकाभित्र महाधिवेशन सम्भव नरहेको निकट नेताहरू नै जनाउँछन्।
विगतमा पनि अधिवेशन गराउने भनिए पनि हुन नसकेको जनाउँदै तरुण दलका ती नेताले भने, ‘पद जोगाउन यस्ता प्रयास भइरहन्छ। महाधिवेशन गराउने चाहना पार्टीका नेतालाई पनि छैन।’ माउ पार्टी कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघसहितका संगठनको म्याद पटकपटक थप गर्दै आएको छ तर महाधिवेशन हुन सकेको छैन। समय गुजारेका भ्रातृ संगठनका महाधिवेशन गराउन भन्दै पार्टीले नै निर्देशन समिति गठन गरेको छ तर त्यसले पनि महाधिवेशन गराउने स्पष्ट खाका र नीति बनाउन सकेको छैन।
गत २०८१ चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गराउन मंसिर २६ गते कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टी नेताहरू सम्मिलित निर्देशन समिति बनाएको थियो। जसअनुसार तरुण दलमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय, दलित संघमा सहमहामन्त्री जीवन परियार, नेविसंघमा सहमहामन्त्री किशोर सिंह राठोर, महिला संघमा प्रकाशशरण महत, किसान संघमा रमेश रिजाल, भूतपूर्व सैनिक संघमा एनपी साउद, लोकतान्त्रिक खेलकुद संघमा मोहनबहादुर बस्नेत, अपांगता संघमा मधु आचार्य, थारू संघमा उदयशमशेर राणा र प्रजातान्त्रिक सेनानी संघमा गोविन्द पोखरेलको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन भएका छन्। ती समितिहरूले भ्रातृ संगठनका अधिवेशन गराउने प्रयास गरे पनि अझै सफलता हात पार्न सकेका छैनन्।
यसले गर्दा नेविसंघले २०७३, नेपाल तरुण दलले २०७२, नेपाल महिला संघले २०७३ र नेपाल दलित संघले २०६९ पछि महाधिवेशन गरेका छैनन्। त्यस्तै २०६४ मंसिरमा गठन भएको नेपाल किसान महासंघले अहिलेसम्म पनि अधिवेशन गर्न सकेको छैन।
नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको पनि स्थापनाकालदेखि नै महाधिवेशन भएको छैन। कांग्रेसका १३ भ्रातृ संस्था, २६ शुभेच्छुक र ३७ वटा विदेशस्थित जनसम्पर्क समिति छन्।
प्रकाशित: २ भाद्र २०८२ २१:२५ सोमबार




