१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

नेपाल उज्यालो बनाउने माओवादी, भ्रष्टाचार गर्ने कांग्रेस-एमाले: दाहाल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय शिक्षा विधेयक रोकिनुमा नेकपा (एमाले) र नेपाली कांग्रेस दोषी रहेको आरोप लगाएका छन्।

उनले आफ्नो पार्टीलाई पनि कांग्रेस-एमाले जस्तै भनेर बुझ्नु ‘दृष्टिदोष’ भएको टिप्पणी गरे। बिहीबार राजधानीमा अखिल (क्रान्तिकारी) द्वारा आयोजित ‘शैक्षिक संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘विद्यालय शिक्षा विधेयक सदनमा पुग्न ढिलाइ भयो, त्यो नेकपा (एमाले) र नेपाली कांग्रेसका कारणले भएको हो,’ अध्यक्ष दाहालले भने, ‘यो विधेयक मेरो प्रधानमन्त्रीत्व कालमा दर्ता भएको हो। तर शिक्षकहरूसँग भएका सम्झौताविपरीत जान खोज्ने र विधेयकको विरुद्धमा जाने काम वर्तमान सरकारको नेतृत्व गर्ने एमाले र केपी ओलीजी नै हुनुहुन्छ। यसमा कोही भ्रममा पर्नु जरुरी छैन।’

उनले असार १५ भित्र विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको सरकारले श्रावण १५ बितिसक्दा पनि काम गर्न नसकेको भन्दै आलोचना गरे। ‘सरकारले विधेयक रोकेर राखेको छ,’ उनले भने।

कार्यक्रममा विद्यार्थीहरूले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले माओवादी केन्द्रको नेतृत्वमा भएका कामहरूलाई नजरअन्दाज गरेर सबै दललाई एउटै डालोमा हाल्न नहुने बताए।

‘यदि कुनै विद्यार्थी साथीले हामीलाई पनि कांग्रेस-एमाले जस्तै देख्नुभएको छ भने म भन्छु, त्यो तपाईंको दृष्टिदोष हो,’ उनले भने, ‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिकता ल्याउने माओवादी, गरिब किसानको ऋण मिनाहा गर्ने माओवादी, लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउने माओवादी र भ्रष्टाचार गर्ने कांग्रेस-एमाले उस्तै हो ?’

आफ्नो कार्यकालमा विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डा अन्त्य गरेर मेरिटोक्रेसी (योग्यता प्रणाली) आफूले नै स्थापित गरेको उनले दाबी गरे।

‘विश्वविद्यालयमा राजनीतिक भागबन्डा गर्ने र आफ्ना कार्यकर्ता भर्ती गर्ने गलत परम्परा तोडेर मेरिटोक्रेसी मैले नै स्थापित गरेको हुँ,’ दाहालले भने, ‘तर अहिले सरकार फेरियो, फेरि पुरानै ठाउँमा फर्कियो। फेरि कर्मचारी भर्ती केन्द्र बनाइएको छ।’

प्रकाशित: २२ श्रावण २०८२ १५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App