१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

जलवायु संकट समाधान गर्न माओवादी केन्द्रले नेतृत्व लिनुपर्छ: दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जलवायु परिवर्तनका असरहरूमाथि गम्भीर चिन्ता व्यक्त गर्दै संकटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका छन् । जलवायु परिवर्तनको विरुद्ध माओवादी केन्द्रले स्पष्ट नेतृत्व लिनुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।  

माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जलवायु परिवर्तनको असरलाई पूँजीवादी विकास मोडलको असफलताको परिणामको रूपमा चित्रित गरे ।  

उनले भने, ‘आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ। यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो हुँदै जानेछ।’

अध्यक्ष प्रचण्डले आफूले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गरे । उनले भने, ‘हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भिर ढंग्गले उठाउँदै आएका छौं।’

उनले धनी राष्ट्रहरूको नाफामुखी अवधारणकै कारण कार्बन उत्सर्जन भैरहेको भएतापनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले बेहोर्नु परेको र कार्बन क्षतिपूर्ति स्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएको प्रति विश्वका तेस्रो मुलुको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता औल्याएका छन् ।  

अध्यक्ष प्रचण्डले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सहि उदेश्यले ल्याइएको भएपनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताए ।  

सामुदायिक वन व्यवस्थापनको अवधारणा ल्याउने नेतृत्वको अवसरमावादमा फस्दै जाँदा सहकारी र वनमा समेत समस्या आएको उनले बताए ।  

कार्यक्रममा तयार पारिएको अवधारणापत्रप्रति प्रशंसा व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यो केवल पार्टीको दस्तावेज मात्र नभई अन्तर्राष्ट्रिय हस्तक्षेप र संवादको महत्वपूर्ण दस्तावेज बन्न सक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित: २० भाद्र २०८२ १८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App