नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल र उनका परिवारका सदस्यहरूविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गरिएको प्रचारप्रति पार्टीले कडा आपत्ति जनाएको छ।संयोजक दाहालको सचिवालयका तर्फबाट जारी गरिएको प्रेस नोटमा पार्टीले हालका केही समाचार र सामग्रीहरू पूर्ण रूपमा तथ्यहीन चरित्रहत्या गर्ने र नियोजित ढङ्गले प्रवाह गरिएका भन्दै भर्त्सना गरेको छ।
‘सङ्कटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित रूपमा गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीहरूको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गर्दछौँ।’, सचिवालयका संयोजक गोविन्द आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । प्रेस नोटमा संविधानले प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार र पत्रकार आचारसंहिताको मर्यादाको पालना गर्न आग्रह गर्दै भनिएको छ कि, कुनै पनि समाचार प्रकाशित वा प्रसारित गर्दा सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित गर्नु पत्रकारको न्यूनतम दायित्व हो।
तर पछिल्ला दिनमा दाहाल र उनका परिवारविरुद्ध आएका समाचार र पोस्टहरूमा ती कानुनी तथा नैतिक मापदण्डहरूको उल्लङ्घन गरी ‘पूर्वाग्रही, प्रायोजित र असत्य विवरणहरू’ प्रस्तुत गरिएको आरोप लगाइएको छ।
दाहाल निवासबाट जेन–जी आन्दोलन अघि दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र गङ्गा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको जस्ता दाबीहरू पूर्णतः निराधार रहेको उल्लेख गर्दै विज्ञप्तिमा ती दाबीहरूको सत्यता प्रमाणित गर्न चुनौती दिइएको छ।
प्रकाशित: २६ आश्विन २०८२ ११:१३ आइतबार





