राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि अझै पनि मुद्दाका थुप्रै तरबार झुन्डिरहेको बताएका छन्।
शनिबार काठमाडौं विमानस्थलमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले जस्तोसुकै घेराबन्दी र मुद्दा मामिला भए पनि आफू अन्तिम सास रहुन्जेल लडिरहने उद्घोष गरे।
रिहा भएर राजधानी फर्किएका लामिछानेले सरकार परिवर्तन भए पनि आफूमाथि लगाइएका मुद्दाहरू यथावत रहेको र खतरा नटरेको भन्दै सचेत गराए ।
समर्थकहरूमाझ बोल्दै लामिछानेले आफ्नो भविष्य अझै अनिश्चित रहेको सङ्केत गरे। उनले भने, ‘मलाई थाहा छैन, मेरो यो आवाज कति दिनसम्म चल्ने हो। ममाथि तरबारहरू धेरै झुन्डिएका छन्। मुद्दै–मुद्दा बाँकी छन्।’
उनले पुरानो सत्ता ढले पनि त्यसले लगाएको कानुनी पासो नहटेको बताए। ‘अपदस्थ सरकार गयो तर उनले झुन्ड्याएको मुद्दा मेरो टाउकोमाथि अझै पनि छ,’ लामिछानेले भने, ‘तर म लड्छु ! मलाई लड्नका लागि कुनै चिन्ता छैन। जबसम्म सास रहन्छ, म लड्छु।’
सभापति लामिछानेले आफ्नो लडाइँ व्यक्तिगत स्वार्थ वा पदका लागि नभएको दाबी गरे। आफू लड्नकै लागि जन्मिएको बताउँदै उनले भने, ‘मलाई व्यक्तिगत रूपमा केही चाहिँदैन, मेरा केही माग र मुद्दा छैनन्। मेरो लडाइँ यो देश र यो पुस्ताका लागि हो।’
उनले आफूमाथि जतिसुकै प्रहार भए पनि पछि नहट्ने र देश तथा नयाँ पुस्ताको न्यायका लागि निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरे।
विमानस्थलमा उनलाई समर्थकले भव्य स्वागत गरेका थिए।
प्रकाशित: ५ पुस २०८२ १७:१८ शनिबार





