राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीमाथि प्रतिक्रिया दिँदै पार्टी सभापति रवि लामिछानेको समर्थनमा जारी हस्ताक्षर अभियानले ५ करोडको आँकडा पार गरे पनि अचम्म नमान्न आग्रह गरेका छन्।
भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले भने ‘भर्खरै केपी शर्मा ओली ज्यूले ३ करोडभन्दा धेरै हस्ताक्षर हुन्छ जस्तो छ भन्नुभएछ। पक्कै हुन्छ। यो ३ करोड होइन, ५ करोड नै नाघ्यो भने पनि अचम्मित नहुनुहोला।’
उनले हस्ताक्षर अभियान नेपालभित्र मात्र सीमित नरहेको दाबी गरे। ‘पोखराको लेकसाइडमा विदेशीले पनि हस्ताक्षर गरिरहेका छन्। साउनमा पशुपति आउने भारतीय धार्मिक पर्यटकले पनि ‘तिम्रो नेतामाथि अपराध भयो’ भनेर हस्ताक्षर गरिरहनुभएको छ,’ उनले थपे, ‘त्यसैले यो अभियान नेपालमा भएका नेपालीको मात्र होइन। टाइम्स स्क्वायर, न्युयोर्कदेखि बुर्ज खलिफाको आँगनसम्म, जसले नेपाल र यहाँको राजनीति बुझेको छ, उसले यो अन्याय हो भनेर हस्ताक्षर गर्न थालिसक्यो।’
झाले रवि लामिछानेको गिरफ्तारीपछिको अभियानलाई ‘राजनीतिक मिसन’ मात्र नभएर ‘परिवर्तनको मिसन’ को संज्ञा दिए। उनले भने, ‘यो परिवर्तनको यात्रा हो। अब परिवर्तनका लागि २८ महिना बाँकी छ भनेर सोच्नुस्। २०८४ को निर्वाचन हाम्रो गन्तव्य हो र त्यसअघि आउने उपनिर्वाचन एउटा माइलस्टोन हो।’
प्रवक्ता झाले आफूहरू सभापति लामिछानेलाई भेट्न जाँदा कमजोर मानसिकता लिएर गए पनि उल्टै लामिछानेले हौसला दिएर पठाउने गरेको बताए। ‘हामी मानसिक रूपमा कमजोर भएर हाम्रो नेता भित्र हुनुहुन्छ भनेर जान्छौँ, तर उहाँले हामीलाई हौसला दिएर पठाउनुहुन्छ,’ झाले भने, ‘उहाँले तिमीहरू मिसनमा लाग भन्नुहुन्छ।’
उनले कारागारको नियमअनुसार १५ मिनेट मात्र भेट्न पाइने भए पनि आफूले पूरा समयको सदुपयोग गरेर सभापतिसँग कुराकानी गरेको जानकारी दिए।
के भनेका थिए प्रधानमन्त्री ओलीले ?
यसअघि मंगलबार कैलालीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाको हस्ताक्षर अभियानलाई ‘व्यवस्था विरोधी र कर्मकाण्डी’ भन्दै व्यङ्ग्य गरेका थिए।
उनले भनेका थिए, ‘मलाई डर लाग्या छ, ३ करोडभन्दा माथि हस्ताक्षर गयो भने..., म उहाँहरूलाई अलिकति सचेत गराउन चाहन्छु, हस्ताक्षर अभियान ३ करोडभन्दा माथि नपुगोस् है !’
प्रकाशित: १५ श्रावण २०८२ २२:०९ बिहीबार




-600x400.jpg)
