नेकपा (एमाले) का नेता महेश बस्नेतले जेन-जी पुस्तको अभियानको पछाडि कुनै राजनीतिक रहस्य नहोस भन्ने कामना गरेका छन्।
सामाजिक सञ्जलामा लेख्दै उनले जेन-जीको यो अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताए। उनले यस्ता आन्दोलनहरू सही ढंगले परिचालन भएनन् भने गत चैत १५ गते दुर्गा प्रसाईँद्वारा सञ्चालित आन्दोलन उग्र अराजक र अपराधीकृत ढंगले प्रकट हुने खतरासमेत रहेको जिकिर गरे।
उनले लेखेका छन्, 'भ्रष्टाचार र विभेदको कुरा गर्दा साँघुरो दृष्टिकोणमा नबसौँ। केवल नेताको मात्र भ्रष्ट्राचार होइन, समाजका सबै तहमा हुने भ्रष्ट्राचार र दुराचारलाई हटाएर मात्र सुशासन सम्भव छ। राजनीति भाषणले होइन, कामले प्रमाणित गर्नुपर्ने विषय हो।'
यस्तो छ बस्नेतको स्टाटस:
Hello Zen-Z पुस्ताका भाइबहिनीहरू !
तपाईंहरूले सुरु गर्नुभएको भ्रष्टाचारविरोधी अभियानलाई हामी सबैले समर्थन रहन्छ्। तर सचेत रहनुपर्छ। किनभने यस्ता आन्दोलनलाई भित्रैबाट बिगार्ने, दिशाहीन पार्ने र आफ्ना स्वार्थका लागि प्रयोग गर्नेहरूको कमी छैन। यस अभियानको पछाडि कुनै राजनीतिक रहस्य नहोस भन्ने कामना छ।
नयाँ पुस्तामा भ्रमको खेती गरेर, असन्तोष बाँडेर, आफूलाई लोकप्रिय बनाउने यस्को उपयोग गर्ने। देशभित्र र बाहिर रहेका स्वार्थी मान्छेहरूले नजानिँदो किसिमले लागेकै छन सचेत रहन आवश्यक छ। देशभित्रका असफल ब्यक्ति देखि विदेशमा बसेर केवल आक्रोश बेच्नेहरूसबैले तपाईंहरूको उत्साहलाई आफ्नो स्वार्थको भाँडो बनाउन खोजिरहेका छन्। तर, याद राख्नुस् यो पुस्ता खेताला होइन, कसैले पालेर मन नपरेक पाहुना आएभने बाटोमा छोडिदिने घरमा पालेको भोटे कुकुर पनि होइन। जब यो पुस्ताले बुझ्छ, तब प्रयोग हुने होइन प्रयोग गर्नेहरूलाई नै ठिक पार्छ।
यस्ता आन्दोलनहरू सही ढंगले परिचालन भएनन् भने, गत चैत्र १५, गते दुर्गा प्रसाईद्वारा सञ्चालित आन्दोलन उग्र अराजक र अपराधीकृत ढंगले प्रकट हुनेछ र त्यसरी नै सकिनेछन्, र धेरै युवालाई अपराधी बनाउने खतरासमेत हुन्छ।
भ्रष्टाचार र विभेदको कुरा गर्दा साँघुरो दृष्टिकोणमा नबसौँ। केवल नेताको मात्र भ्रष्ट्राचार होइन, समाजका सबै तहमा हुने भ्रष्ट्राचार र दुराचारलाई हटाएर मात्र सुशासन सम्भव छ। राजनीति भाषणले होइन, कामले प्रमाणित गर्नुपर्ने बिषय हो।
उदाहरण खोज्न चाहनुहुन्छ भने, भक्तपुरको म सांसद भएको २०७४–२०७९ को भक्तपुर को बिकास र परिबर्तन हेर्नुहोस्। त्यो तुलना हाम्रो क्षेत्र संग सिमा जोडिएका छिमेकी जिल्लाका मा सोबिता गौतमदेखि मेयर बालेनसम्मले गरेको काम नापजाँच गर्नुस्। यदि मेरो काम एक अंकले पनि कम देखियो भने,म राजनीति सदाका लागि छोड्न तयार छु।
याद रहोस् भावनात्मक ब्ल्याकमेल गरेर जनतालाई लठ्याउने चाल असफल भएको इतिहासले प्रमाणित गर्छ। ज्ञानेन्द्र शाह असफल भए, प्रचण्ड असफल भए। आज रवि, बालेन, राजेन्द्र लिङ्देलहरू पनि त्यही बाटोमा हिँडिरहेका छन्।
राजनीति आवेश, उत्तेजना र शो- अफको खेल होइन। यो राष्ट्रको भविष्य सम्हाल्ने गम्भीर जिम्मेवारी हो। यदि सही नीति, सही सिद्धान्त र भिजन नभए यो देशलाई जेनलिन्स्कीले युक्रेन जस्तै ध्वस्त पार्ने खतरा हुन्छ।
प्रकाशित: २३ भाद्र २०८२ ११:३४ सोमबार





