६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महेश भन्छन्: सावधान ! यहाँ नेकपा एमाले छ, संविधानलाई ध्वस्त पार्न दिँदैनौं

नेकपा (एमाले) का नेता महेश बस्नेतले हालैको जने-जी आन्दोलन अराजकता विदेशी शक्तिहरूको डिजाइनमा भएको दाबी गरेका छन्।

उनले नयाँ पुस्ताको दिमागमा विष भरेर देशलाई प्रतिशोधको राजनीतिमा धकेल्ने गम्भीर षड्यन्त्र भइरहेको बताए।

शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको बडादशैंको अवसरमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले जेन-जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीको भर्त्सना गरे।

‘हामीले सामाजिक सञ्जालमा विभिन्न मुलुकमा आतंककारीहरूले व्यक्ति हत्या गरेका भिडियो हेर्थ्यौं, तर यसपालि नेपालमै हाम्रा प्रहरी दाजुभाइलाई कुटी-कुटी मारेका दृश्य हेर्नुपर्‍यो,’ उनले भने।

उनले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवन, पार्टी कार्यालय र सयौं घरहरू जलाइएको भन्दै यो नेपाली समाजले कहिल्यै स्वीकार्न नसक्ने घटना भएको सुनाए। ‘हामीले प्रतिपक्षमा हुँदा आन्दोलन गर्दा, कांग्रेसले ढुङ्गामुढा र चक्काजाम गर्‍यो भन्थ्यो, तर हामीले कहिल्यै राष्ट्रिय सम्पत्ति नष्ट गरेनौं,’ बस्नेतले भने।

नेता बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिँदासम्म देशका प्रमुख संरचनाहरू सुरक्षित रहेको तर उनले राजीनामा दिएपछि सुनियोजित रूपमा आगजनी र तोडफोड सुरु भएको दाबी गरे।

उनले यो सम्पूर्ण घटनाक्रम अन्तर्राष्ट्रिय शक्तिको डिजाइन र ‘डिप स्टेट’ को अवधारणा लागू गर्ने प्रयास भएको आरोप लगाए।

‘विदेशी एजेन्सीका दलाल र एजेन्ट बनेर, डार्क इनर्जी बोकेर आफूलाई सेलिब्रेटी भन्नेहरूको डिजाइनमा यो हत्या भएको छ,’ उनले भने, ‘तिमीहरूको देश ध्वस्त पार्ने सपना कदापि पूरा हुन दिइने छैन। यहाँ नेकपा एमाले छ, यहाँ केपी ओली छ, यहाँ महेश बस्नेत छ।’

उनले एमाले र लोकतन्त्रवादी शक्तिहरूले देशमा लोकतन्त्र र संविधानलाई समाप्त पार्न नदिने दृढता व्यक्त गरे। ‘सावधान ! नेकपा एमाले र युवा संघ फेरि पनि यो धर्तीमा छ,’ उनले भने, ‘हामी लोकतन्त्र र संविधानलाई ध्वस्त पार्न दिँदैनौं।’

प्रकाशित: ११ आश्विन २०८२ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App