नेपालमा बढ्दो राजनीतिक दलहरूको सङ्ख्यालाई लिएर शिक्षा मन्त्री महावीर पुनले व्यङ्ग्य गरेका छन्। उनले दलको सङ्ख्या अझै नपुगेको भन्दै २ सय पुग्नु परेको बताएका छन्।
नेपालमा दर्ता राजनीतिक दलहरूको सङ्ख्या हालसम्म १ सय २५ पुगेको निर्वाचन आयोगले जनाएको छ। पछिल्ला दिनमा नयाँ नयाँ दल थपिँदै जाँदा नागरिकहरूले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गर्न थालेका छन्। यस्तो टिप्पणी गर्नेमा शिक्षा मन्त्री महावीर पुन पनि थपिएका छन्।
‘अब त २०० भन्दा बढी दल पुराऔँ, जुटेर देश समृद्ध हुन्छ कि फुटेर?' सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै शिक्षा मन्त्री महावीर पुनले लेखेका छन्, ‘जति धेरै दलहरू बने, गणतन्त्र त्यति नै सफल र सुदृढ हुन्छ।’ जति धरै दल भयो बसी–बसी गफ गर्न पाइने र सुती–सुती खान पाइने भन्दै उनले व्यङ्ग गरेका हुन्।
निर्वाचन आयोगका अनुसार दर्ता भएका दलहरू मध्ये सक्रिय दलहरूको सङ्ख्या कम भए पनि नयाँ समूह र नेताहरूले आफ्नै राजनीतिक सङ्गठन खोलेर दर्ता गर्ने क्रम रोकिएको छैन।
प्रकाशित: १८ कार्तिक २०८२ ०८:४७ मंगलबार





