३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

मधेस सबै समुदायको साझा घर होः मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस सबै समुदायको साझा घर भएको बताएका छन्। मुख्यमन्त्री यादवले आज एक सन्देश जारी गर्दै विविधता नै मधेसको सामर्थ्य र शक्ति भएको बताए।

उनले मधेसको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई कमजोर बनाउने धारणा राखे। हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले हिंसाले कहिल्यै समाधान नदिने बताए। धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजलाई झनै कमजोर बनाउने उनको भनाइ छ।

प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ। मुख्यमन्त्री यादवले शान्तिसुरक्षाको अवस्था थप सुदृढ बनाइने उल्लेख गरे। साथै, अफवाह फैलाउने तथा घृणात्मक गतिविधिमा संलग्न जो कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी दिए।  

मुख्यमन्त्री यादवले सबै धर्मगुरु, राजनीतिक दल, युवा तथा सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको मार्ग अवलम्बन गर्न आग्रह गर्दै समस्या समाधान सधैँ संवादबाट हुने, द्वन्द्वबाट कहिल्यै नहुने धारणा व्यक्त गरे।  

प्रकाशित: २१ पुस २०८२ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App