६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मधेश सङ्कट काठमाडौंको षड्यन्त्र, यो मधेशको अस्थिरता होइन: विश्लेषक साह

राजनीतिक विश्लेषक तुलानारायण साहले मधेश प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई मधेशको आन्तरिक अस्थिरता नभई संघीयतालाई कमजोर बनाउन काठमाडौंबाट रचिएको एक सुनियोजित षड्यन्त्र भएको टिप्पणी गरेका छन्।

प्रदेश प्रमुखद्वारा मध्यरातमा होटेलबाट मुख्यमन्त्री नियुक्त गरिनुलाई उनले लोकतान्त्रिक विधि र संघीय प्रणालीमाथिकै प्रहार भएको बताए।

सोमबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रममा कुराकानी गर्दै विश्लेषक साहले मधेशमा देखिएको हालको विवादलाई जबर्जस्ती सिर्जना गरिएको र यसको मुख्य उद्देश्य राजनीतिक अस्थिरता पैदा गर्नु रहेको उल्लेख गरे।

विश्लेषक साहले भने, ‘मधेशमा जुन विवाद आज देखिएको छ, यो जबर्जस्ती गराइएको जस्तो देखिन्छ। खासगरी प्रदेश प्रमुखको भूमिका हेर्दा, विश्वासको मत लिने प्रक्रिया प्रदेश सभामा टुङ्गो नलाग्दै र त्यसको औपचारिक जानकारीसमेत नआउँदै उहाँले जसरी हतारमा कदम चाल्नुभयो, त्यसले यो स्वाभाविक राजनीतिक प्रक्रिया होइन भन्ने देखाउँछ।’

उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यशैलीमाथि प्रश्न उठाए। ‘बिरामी भएर काठमाडौं जान्छु भनेर निस्किने अनि बाटोको होटेलमा गएर मध्यरातमा शपथ गराउने कार्यले के सन्देश दिन्छ ?,’ साहले प्रश्न गरे, ‘यो संघीयता, संसदीय लोकतन्त्र र स्थापित विधिको मजाक उडाएको जस्तो देखियो। यसले प्रदेश प्रमुखले आफ्नो पदीय मर्यादा र कानुनी परिधि दुवैको ख्याल नराखेको देखिन्छ।’

साहका अनुसार यो समस्याको मूल जड काठमाडौंका प्रमुख दल र तिनका शीर्ष नेताहरूको संघीयताप्रतिको अनुदारवादी सोच हो।

उनले भने, ‘नेपाली कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलहरूले संघीय प्रणालीलाई कहिल्यै मनदेखि स्वीकार गरेनन्, उनीहरूले यो प्रणालीलाई ‘ओन’ गर्न सकेनन्। उनीहरूका लागि यो विभिन्न आन्दोलनले थोपरेको बाध्यता मात्र थियो।’

उनले थपे, ‘शीर्ष नेताहरूको मानसिकता यो देश आफ्नो पैतृक सम्पत्ति हो भन्ने छ। सीमान्तकृत समुदाय वा प्रदेशले अधिकार पाउँदा उनीहरूलाई आफ्नो भाग खोसिएको जस्तो लाग्छ। त्यसैले जब अवसर मिल्छ, उनीहरू प्रदेशलाई कमजोर बनाउने र संघीयतालाई असफल देखाउने गतिविधि गर्छन्।’

विश्लेषक साहले यस घटनालाई मधेशको असफलताका रूपमा चित्रण गर्न नहुनेमा जोड दिए। उनले भने, ‘यो मधेशले गरेको होइन, यो काठमाडौंले गराएको हो। नेकपा एमालेको सरकारले नियुक्त गरेकी प्रदेश प्रमुखले अत्यन्त रहस्यमय र षड्यन्त्रपूर्ण तरिकाले मधेशमा राजनीतिक विवाद खडा गर्ने, दलहरूलाई आपसमा लडाउने र अन्ततः संघीयतालाई नै तुहाउने षड्यन्त्र गरेको प्रष्ट छ।’

उनका अनुसार यस घटना मधेश आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरूलाई कमजोर पार्ने निरन्तर प्रयासकै एउटा हिस्सा हो। मधेशमा भएको पछिल्लो घटनाक्रमले संघीयता कार्यान्वयनमा केन्द्रको इमानदारीमाथि गम्भीर प्रश्न खडा गरेको शाहको भनाइ छ।

प्रकाशित: २४ कार्तिक २०८२ १७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App