२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

१८ वर्षपछि मधेसकेन्द्रित दल ‘क्लीन स्विप’, राष्ट्रिय दलको मान्यता पनि गुम्ने निश्चित

२०६४ सालको मधेस आन्दोलनपछि उदाएका र १८ वर्षसम्म राष्ट्रिय राजनीतिमा निर्णायक बनेका तराई-मधेसकेन्द्रित दलहरू यसपटकको निर्वाचनमा नराम्ररी बडारिएका छन्।

सरकार बनाउने र ढाल्ने खेलमा ‘किङ मेकर’ बन्दै आएका यी शक्तिहरूको अस्तित्व फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनसँगै संकटमा परेको छ।

यो समाचार तयार पार्दासम्म मधेसकेन्द्रित कुनै पनि दलका उम्मेदवार विजयको नजिक देखिएका छैनन्। उनीहरूको राष्ट्रिय दलको हैसियतसमेत गुम्ने निश्चित प्रायः भएको छ।

उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सीके राउतको जनमत पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीसहित जनमतबाट फुटेर बनेका अन्य साना दलले चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए।

तर, राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत सीमा कटाउनुपर्ने संवैधानिक प्रावधान पूरा गर्ने अवस्थामा कुनै पनि दल देखिएका छैनन्। अहिलेसम्मको गणनामा मधेसकेन्द्रित कुनै पनि दलले एक सिटमा पनि अग्रता लिन सकेका छैनन्।

उपेन्द्र यादव र महन्थ ठाकुरले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिके राउतले नेतृत्व गरेको जनमत पार्टी, राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी, जनमत पार्टीबाट फुटेर बनेको स्वाभीमान पार्टी र जनअधिकार पार्टीले प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिएका थिए।

यीमध्ये कुनै पनि राष्ट्रिय पार्टी बन्ने अवस्थामा छैनन्।

पुसको अन्तिम साता जसपा नेपालसँग तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बीच एकता भएको थियो। पार्टी एकीकरणपछि बलियो शक्ति बन्ने नेताहरूको आकलनलाई निर्वाचन परिणामले गलत साबित गरिदिएको छ।

अघिल्लो पटक २०७९ सालको निर्वाचनमा मधेसकेन्द्रित दलहरूको उपस्थिति यति कमजोर थिएन। त्यसबेला जसपा नेपालले प्रत्यक्षमा सात र समानुपातिकमा पाँच गरी १२ सिट तथा जनमत पार्टीले ६ सिट जित्दै राष्ट्रिय मान्यता पाएका थिए।

यद्यपि, लोसपाले प्रत्यक्षमा चार सिट जितेर पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न सकेको थिएन।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम ५२ सिटसहित चौथो शक्तिका रूपमा उदाएको थियो। सोही समयमा तमलोपाले २१ र २०४६ सालको परिवर्तनपछि खुलेको सद्भावना पार्टीले ९ सिट हासिल गरेका थिए। मधेस आन्दोलनको रापतापमा चमत्कारिक ढंगले उदाएका यी शक्तिहरू १८ वर्ष पुग्दा नपुग्दै ओरालो यात्रामा लागेका छन्।

यद्यपि, जसपा नेता मनिष सुमनले अहिलेको अवस्थालाई चलचित्रको ‘मध्यान्तर’ का रूपमा अर्थ्याएका छन्। तराई–मधेसका शक्तिहरू फेरि उदाउने दाबी गर्दै उनले भने, ‘अहिले फिल्म हेर्दाहेर्दै मध्यान्तर भएको जस्तो अवस्था हो, मध्यान्तर सकिएपछि फेरि फिल्म सुरु हुन्छ।’

मधेसकेन्द्रित दलहरू एक्कासि किन कमजोर भए भन्ने प्रश्नमा सुमनले ‘बालेन फ्याक्टर’ लाई मुख्य कारण माने। ‘बालेन शाह मधेसी हुन्, रास्वपाले उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो,’ उनले भने, ‘मधेसको छोरो प्रधानमन्त्री बनोस् भन्ने चाहनाले मधेसमा बालेनको पक्षमा लहर आयो। त्यही लहरले हाम्रा दलहरू पछि परे।’

राजनीतिक विश्लेषक तुलानारायण साहले निर्वाचनमा आएको नयाँ लहरले मधेसका पुराना शक्तिहरू ‘बरालिएको’ टिप्पणी गरे। उनले भने, ‘अहिले आएको लहरमा नेपाली कांग्रेस र एमाले त यो हालतमा छन् भने मधेसकेन्द्रित दलहरू बरालिनु स्वाभाविक जस्तै देखियो।’

निर्वाचन परिणामले सधैं जित्दै आएका ‘हेविवेट’ नेताहरूलाई समेत पाखा लगाएको छ। २०३८ सालदेखि निरन्तर चुनाव लड्दै आएका शरत्सिंह भण्डारी, जसपा अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र महतो, सुरेन्द्र यादव र सीके राउत पराजयको संघारमा पुगेका छन्।

यादव सप्तरी–३, भण्डारी महोत्तरी–२, महन्थ ठाकुरकी छोरी मीनाक्षी ठाकुर महोत्तरी–३ र राजेन्द्र महतो सर्लाही–२ बाट उम्मेदवार बनेका थिए।

त्यसैगरी, जनमतका अध्यक्ष सीके राउत सप्तरी–२ मा पछि परेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ २०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App