नेकपाका सहसंयोजक माधव नेपालले पार्टीलाई महाधिवेशन केन्द्रित बनाएर नयाँ चरणमा अघि बढाउन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।
पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उनले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण र नयाँ राजनीतिक दिशाको आधारका रूपमा लिनुपर्ने बताए । महाधिवेशनपछि पार्टी नयाँ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्दै उनले सबै नेता–कार्यकर्तालाई सकारात्मक ऊर्जा र एकताका साथ अघि बढ्न आग्रह गरे ।
यस क्रममा उनले पार्टीभित्र भइरहेको आलोचना र नकारात्मक प्रचारप्रति संकेत गर्दै केही व्यक्तिहरूले भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको टिप्पणी गरे । नेता झलनाथ खनालतर्फ संकेत गर्दै नेता नेपालले भने, ‘कोही–कोही मान्छेहरू नकारात्मक प्रचार गरेर हिँडिरहेका छन्, तर हामीले सबै कुरा बुझिरहेका छौँ।’
हालै नेता झलनाथ खनालले पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालमाथि ३६ बुँदे आरोपसहित नेतृत्वमाथि प्रश्न उठाएका थिए। त्यसपछि पार्टीभित्र नेतृत्व, कार्यशैली र भावी दिशालाई लिएर बहस तीव्र बनेको छ।
माधव नेपालले भने पार्टीको मूल उद्देश्य जनतालाई केन्द्रमा राखेर सामाजिक तथा आर्थिक रूपान्तरणको एजेन्डा कार्यान्वयन गर्नु रहेको बताए ।
उनले भने, ‘जुन पार्टीले जनतालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्छ, समाजमा आमूल परिवर्तन र सामाजिक–आर्थिक रूपान्तरणको लक्ष्य बोकेर अघि बढ्छ, त्यही पार्टी दीर्घकालीन रूपमा सफल हुन्छ।’
उनले महाधिवेशनलाई केवल संगठनात्मक प्रक्रिया नभई पार्टीलाई नयाँ ऊर्जा, नयाँ संरचना र नयाँ सोचका साथ अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए ।
प्रकाशित: ५ असार २०८३ १७:११ शुक्रबार





