२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

माधव नेपाललाई ‘कोटरी’ ले घेर्‍यो, पद नछोड्न उक्सायो: झाँक्री

नेकपा (एमाले) मा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले नेकता (एकीकृत समाजवादी) का अध्यक्ष (हाल नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक) माधवकुमार नेपाललाई उनकै वरिपरिको एउटा सानो समूह (कोटरी) ले घेराबन्दीमा पारेर गुमराहमा राखेको बताएकी छन्।

उनले उक्त समूहले आफ्नो व्यक्तिगत स्वार्थ र पदको सुनिश्चितताका लागि अध्यक्ष नेपाललाई पदबाट राजीनामा दिनबाट रोकेको खुलासा गरिन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै नेतृ झाँक्रीले पार्टी विभाजनदेखि एमालेमा आफ्नो पुनरागमनसम्मका भित्री पाटाहरू खुलेर बताएकी हुन्।

अध्यक्ष नेपालमाथि भ्रष्टाचारको आरोप लाग्दा आफूले उनले नैतिकताको आधारमा पद छोड्नुहुन्छ भन्ने अपेक्षा गरेको तर त्यसो हुन नसक्नुमा उनकै वरिपरिका केही नेताहरू जिम्मेवार रहेको उनको दाबी थियो।

‘उहाँ (माधव नेपाल) ले छोड्दाखेरि आफ्नो भागमा अध्यक्ष पद आउने सुनिश्चितता नहुँदासम्म उहाँलाई चाहिँ गुमराहमा राखेर बाहिर जे भइराछ, त्यो नदेखाउनका लागि उहाँहरूले प्रेरित गर्नुभयो,’ नेतृ झाँक्रीले भनिन्।

कुनै समय अध्यक्ष नेपालको सबैभन्दा निकट र विश्वासपात्र मानिने झाँक्रीले आफू उनिप्रति भयंकर इमान्दार रहेको सुनाइन्।

पार्टी निर्माणको चरणमा आफूजस्ता नेताहरूको भूमिकाविना एकीकृत समाजवादी पार्टी बन्नै नसक्ने जिकिर गर्दै उनले हरेक अप्ठ्यारो परिस्थितिमा आफूले नेपाललाई साथ दिएको स्मरण गरिन्।

७० वर्षे उमेर हदको विवादास्पद प्रस्तावदेखि त्यसलाई फिर्ता लिने निर्णयसम्ममा आफूले नेपालकै पक्षमा अडान लिएको उनले बताइन्। तर, भ्रष्टाचारको आरोपपछि नैतिकताको प्रश्न उठ्दा अध्यक्ष नेपालले पद नछोड्ने अवस्था सिर्जना हुनुमा त्यही ‘कोटरी’ हाबी भएको उनको तर्क थियो।

आफूलाई अनेक प्रश्न बोकेर एमालेमा केही गर्न नसक्ने बताउँदै उनले पार्टी विघटन भइसकेपछिको अवस्थामा भने आफ्नो लागि राजनीतिक बाटो खुलेको बताइन्।

उनले भनिन्, ‘पार्टी नै विघटन भइसकेपछि त अब मेरो लागि त राजनीतिक विचार रोज्ने, पार्टी रोज्ने स्वतन्त्रता त ममा निहित छ नि त।’

प्रकाशित: २६ कार्तिक २०८२ २०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App