पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) पूर्वराष्ट्रपतिकै हैसियतमा रहन आग्रह गरेको थियो। तर, गत असार १४ गते मात्रै उनले सक्रिय पार्टी-राजनीतिमा फर्किएको घोषणा गरिन्।
त्यसयता एमाले; खासगरी अध्यक्ष केपी शर्मा ओलीले उनलाई रोक्नका लागि विधानकै प्रयोग गरेका छन्। विधानमार्फत नै भण्डारीको सक्रिय राजनीतिमा अवरोध खडा गर्नेसम्मको छलफल ओली र उनका निकटस्थहरूका बीचमा हुने गरेको चर्चा छ।
तर, भण्डारीले भने आफू राष्ट्रपतिभन्दा पहिले एमाले उपाध्यक्ष रहेको बताएकी छन्। शुक्रबार (आज) बानेश्वरको कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति बन्नुपूर्व नै एमालेमा ३५ वर्ष बिताइसकेको बताइन्।
अझ रोचक त के भने उनले पत्रकार सम्मेलनमा प्रस्तुत गर्न बनाएको विज्ञप्तिमा 'एमाले उपाध्यक्ष' मात्रै लेखेकी छन्। पूर्वराष्ट्रपति लेख्न भने उनले 'अस्वीकार' गरेकी छन्। एमाले उपाध्यक्ष त्यागेर दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले पूर्वराष्ट्रपतिले सक्रिय राजनीति गर्नुहुँदैन भनेर कहीँ नलेखिएको बताएकी छन्।
कतिपयले पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पूर्वराष्ट्रपति नमान्नुलाई 'सम्मानित पदको प्रतिष्ठान माटोमा मिलाएको' रूपमा अर्थ्याएका छन्। राजनीतिक विश्लेषक केशव दाहालले भनेका छन्, 'एमालेका बागी साथीहरू सक्छौ भने `झोले अध्यक्ष´ सँग भिड्न अर्को विकल्प खोज। एजेन्डासहित युवा पुस्तालाई अगाडि ल्याउ। तर, पूर्वराष्ट्रपतिलाई पत्रकार सम्मेलन गर्न लगाएर, मदनको नाम भजाएर, रुवाबासी गराएर, गल्ली चोकमा कुदाएर सम्मानित पदको मान, प्रतिष्ठा र इज्जतलाई माटोमा नमिलाऊ। यो हुँदैन, हुँदै हुँदैन,' उनले भनेकी छन्।
अन्य थुप्रैले मुख्यत: सामाजिक सञ्जालहरूमार्फत यसको विरोध गरेका छन्।

प्रकाशित: ९ श्रावण २०८२ १७:०२ शुक्रबार





-600x400.jpg)