२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

एमालेमा साझा नेता बन्न खोज्दै विद्या

पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेभित्र आफूलाई साझा नेताका रूपमा उभ्याउन थालेकी छन्। मदन भण्डारी फाउन्डेसनद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीमा तलदेखिकै कार्यकर्ताको न्यायोचित व्यवस्थापन हुनुपर्ने, पार्टीमा व्यक्ति ठुलो नहुने र पार्टी संस्थागत ढंगले चल्नुपर्ने धारणा राखेर आफूलाई साझा नेताका रूपमा उभ्याउने अभ्यास थालेको र राजनीतिक रूपमा सक्रियता आभास दिलाएकी हुन्।

‘पार्टी संस्थागत ढंगले चल्नुपर्छ। व्यक्ति ठुलो कुरा होइन। साथै तलदेखिकै कार्यकर्ताहरूको न्यायोचित व्यवस्थापन हुनुपर्छ,’ उनले पत्रकार सम्मेलनमा भनिन्। एमालेका तत्कालीन महासचिव तथा पूर्वराष्ट्रपतिका स्वर्गीय पति मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउने विषयमा जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो। पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा क्रियाशील हुने भएपछि पार्टीको संस्थापन पक्ष भने असन्तुष्ट छ। संस्थापन पक्षले सकेसम्म विधान महामधिवेशनबाटै उनलाई छेक्ने गरी विधानमा प्रावधान ल्याउन लागेका बेला उनले पार्टीको साझा नेताका रूपमा आफू आउन लागेको संकेत गरेकी हुन्।

‘विधान महाधिवेशनमा कसरी सहभागी हुनुहुन्छ?’ भन्ने नागरिकको प्रश्नमा उनले त्यसमा आफ्नो सहभागिता हुन सक्ने संकेत गरिन्। विधान महाधिवेशनमा विधानतः दसौं महाधिवेशनका प्रतिनिधिहरूले नै भाग लिने भन्दै उनले त्यसमा नयाँ प्रतिनिधिहरू पनि थपिएका र केन्द्रीय कमिटीमा पनि सदस्यहरू मनोनीत भएका सन्दर्भमा आफू पनि त्यसमा सहभागी हुन सक्ने संकेत गरेकी हुन्।

‘उहाँहरू सबै दसौं महाधिवेशनका प्रतिनिधि हुनुहुन्थ्यो कि हुनुहुन्थेन भनेर पार्टीले त्यसबारे छलफल गर्ला नै, त्यसैगरी पहिलाको विधान महाधिवेशनमा जिल्लाका प्रतिनिधिहरू धेरैले भाग लिनुभएको छ र जिल्ला अधिवेशनहरू पनि भएका छन्। ती अधिवेशनहरूमा अहिले आउने नेतृत्व हिजो दसौं महाधिवेशनका प्रतिनिधि थिए कि थिएनन् भनेर पनि पार्टीले  छलफल गर्ला, केन्द्रीय समितिले त्यस्ता विषयमा केही निर्णय गर्ला,’ उनले भनिन्, ‘त्यस्तै जनसंगठनहरूका पनि बिचमा धेरै अधिवेशन, सम्मेलनहरू भएका छन् र हिजो दसौं महाधिवेशनका जनसंगठनका प्रतिनिधिहरू अहिले जनसंगठनको पदाधिकारीमा कति आउन सक्नुभयो वा भएन?’

भण्डारीले पार्टीमा लोकतान्त्रिक अभ्यासहरू भएकोतर्फ संकेत गर्दै नयाँ आएकाको प्रतिनिधित्व कसरी हुने, छुटेकाहरूले जनसंगठनको प्रतिनिधिका रूपमा अथवा महाधिवेशन प्रतिनिधिका रूपमा कसरी आउने भन्ने खालका सबै कुरा केन्द्रीय कमिटीको छलफलको विषय भएको पनि बताइन्। ‘मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ, त्यो केन्द्रीय कमिटीमै भर पर्ने कुरा हो। यो खास गरेर विधान महाधिवेशनको सन्दर्भमा उहाँहरूले मलाई प्रतिनिधिका रूपमा अथवा आमन्त्रित सदस्यका रूपमा कसरी गराउनुहुन्छ, त्यो उहाँहरूको कुरा हा,’ उनले भनिन्, ‘यसमा मेरो यही नै गर्नुपर्छ भन्ने छैन तर समग्रतामा देशभित्र पार्टीले जसरी जनताको तहमा काम गरिरहेको छ, त्यो तहको प्रतिनिधित्व गराउने कुरामा केन्द्रीय कमिटीले छलफल गरेर एउटा धारणा बनाउनेछ भन्ने मेरो विश्वास छ।’

असार १४ गते राजनीतिमा आउने घोषणा गरेकी उनले त्यसयता निरन्तर भेटघाट र विभिन्न दल तथा स्वतन्त्र व्यक्तिहरूसँग भेटघाट गर्दै आएकी छन्। सोही क्रममा उनले आफ्नो कार्यकालमा दुईपटक संसद् विघटन भएको विषयले आफूलाई पछ्याइरहेको बताएकी थिइन्। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसद् विघटन गरेको विषयमा स्पष्ट पार्दै उनले मन्त्रिपरिषद्बाट भएको सिफारिस कार्यान्वयन मात्रै आफूले गरेको  बताइन्।

 ‘विगतको कुरा हो तर यसले मलाई पछ्याइरहन्छ। यसमा म जानकार नै छु। मैले कुनै दबाबभन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन मात्रै गरेकी हुँ,’ उनले भनिन्, ‘देशलाई निकास दिनुपर्ने कुरा हो। कुन बेला के गर्नुपथ्र्यो भन्ने बहसको कुरा हुन सक्थ्यो तर त्यो दबाबले भएको होइन। संवैधानिक व्यवस्थाअनुसार नै गरेको हुँ।’

पत्रकार सम्मेलनमा फाउन्डेसनले मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन मूल समारोह समिति घोषणा गरेको थियो। समितिको संयोजकमा बागमती सरकारका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन्।

कार्यक्रममा दिइएको जानकारी अनुसार हीरक जयन्तीका अवसरमा वर्षैभरि विभिन्न वैचारिक तथा रचनात्मक कार्यक्रमहरू गरिनेछ। २०८४ सालमा जन्मजयन्ती कार्यक्रमको समीक्षासहित समापन गरिनेछ। मूल आयोजक समितिमा अहिले ७५ सदस्य रहेको र पछि थप गरिने बताइएको छ।

त्यस्तै सल्लाहकार समिति पनि छिट्टै गठन गरिने भनिएको छ। एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

प्रकाशित: ३२ असार २०८२ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App