नेकपा एमालेका नेता रघुजी पन्तले राजनीतिक दलका घोषणापत्रमा अब धेरै ठूला सपनाहरू देखाउनु भन्दा पनि व्यवहारिक र कार्यान्वयन गर्न सकिने योजनाहरू मात्र समेटिनुपर्ने बताएका छन्।
बिहीबार नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘क्रियटर्स च्याम्पियन ३.०’ कार्यक्रममा बोल्दै नेता पन्तले दलहरूले जनतालाई महत्त्वाकांक्षी सपना देखाउने तर पुरा गर्न नसक्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन्।
नेता पन्तले विगतमा एउटै पार्टीको स्पष्ट बहुमत नआउँदा र मिलिजुली सरकार चलाउनुपर्दा कुनै पनि दलले आफ्नो घोषणापत्र हुबहु लागु गर्न नसकेको स्वीकार गरे।
‘आफ्नो घोषणापत्र किन कार्यान्वयन भएन भनेर जनताले सोध्दा हामीले स्पष्ट जवाफ दिने ठाउँ अलिकति खुम्चिएको छ,’ पन्तले भने, ‘त्यसैले अबको हाम्रो जोड के छ भने, धेरै सपना देखाउने भन्दा पनि कार्यान्वयनमा लैजान सकिने कुरालाई प्राथमिकता दिऔँ।’
उनले घोषणापत्र यस्तो हुनुपर्ने बताए जसले भोलि सरकारमा पुग्दा काम गर्न मार्गनिर्देश गरोस् र प्रतिपक्षमा बस्दा पनि तिनै मुद्दालाई संसदमा तर्कपूर्ण ढंगले उठाउन सकियोस्।
उनले नेपालको राष्ट्रियता र स्वतन्त्रतालाई बलियो बनाउन आर्थिक आत्मनिर्भरता अनिवार्य रहेको जिकिर गरे।
‘अहिलेको युगमा राजनीतिक स्वतन्त्रताले मात्र पुग्दैन, आर्थिक स्वतन्त्रता पनि चाहिन्छ,’ उनले भने, ‘जबसम्म हामी खाद्य सम्प्रभुताको कुरा नारामा मात्र सीमित राख्छौं र कृषि उपजमा आत्मनिर्भर बन्न सक्दैनौँ, तबसम्म हाम्रो स्वतन्त्रता पूर्ण हुँदैन।’
प्रकाशित: २९ माघ २०८२ १९:३७ बिहीबार




-600x400.jpg)
