प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज, वीरगञ्जको नारायणी अस्पताल र अविरल वर्षाका कारण उत्पन्न जोखिम जस्ता विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले सामाजिक सद्भाव र एकतामार्फत सुनसरी घटनालाई समाधान खोज्न सकिने जनाउँदै अगामी दिनमा यस्ता घटना हुन नदिन सबै पक्ष सचेत बन्नुपर्ने बताए। बैठकमा सांसद समिना मियाँले देवानगञ्ज र कप्तानगञ्ज घटनालाई लिएर राजनीतिक नगर्न आग्रह गर्दै आउँदाे दिनमा यस्ता घटना नहुन सबै पक्ष सचेत बन्नुपर्ने बताए।
सांसद बुद्धिप्रसाद पन्तले गत शनिबार वीरगञ्जको नारायणी अस्पतालमा सेवारत चिकित्सकमाथि कुटपिट हुनु दुःखद् भएको चर्चा गर्दै सो घटना छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरे। सांसद रेखाकुमारी यादवले सुनसरी घटना दोहोरिन नदिन सबै पक्ष सचेत बन्नुपर्ने जोड दिइन्।
बैठकमा सांसद प्रमिलाकुमारी गच्छदारले सुनसरीमा सामान्य विवादका कारण अकल्पनीय घटना हुन दुःखद् भएको जनाउँदै सरकारले नागरिकका सुरक्षामा प्राथमिता दिनुपर्ने बताइन्।
सांसद भूमिका लिम्बू सुब्बाले गत जेठ ८ गते परेको अविरल वर्षाका कारण पाँचथरमा क्षति भएको सदनलाई जानकारी गराउँदै तत्काल उद्धार, राहत र क्षतिपूर्तिको माग गरे।
सांसद नीता घतानीले माइतीघर मण्डला परिसरमा धर्नामा बस्दै आएकी दीपा नेपालीले उठान गरेका माग पूरा गर्न सरकारसँग आग्रह गरिन्।
सांंसद नरेन्द्रकुमार केररुङले मध्यपहाडी राजमार्ग उद्गम जिल्ला रहेको पाँचथरमा बाढीका कारण त्यहाँका नागरिक समस्यामा परेको र क्षति भएको पक्की पूल बनाउन समय लाग्ने भएकाले तत्काल बेलिब्रिज बनाएर समस्या समाधान गर्न माग गरे।
सांसद विश्वराज पोखरेलले ओखलढुङ्गाका चम्पादेवी गाउँपालिका–३ की घर भई मलेसियाको कोपिला दुलालको गत असार ४ गते हत्या भएको घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरे।
सांसद गणेश कार्कीले लोकसेवा परीक्षा रोकियो भनेर हल्ला मात्र भएको जनाउँदै सरकारले आवश्यकताका आधारमा परीक्षा लिनका लागि रोक नलगाएको बताए।
सांसद पूर्णप्रसाद लिम्बूले हालै आएको अविरल वर्षाका सङ्खवासभा चैतपुर नगरपालिका–४ मा ओरिङ्गा टोलमा पहिरो जाँदा खानेपानीका पाइप क्षति भएर २०० परिवार खानेपानीविहीन भएको र अलैची खेती नष्ट भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उचित व्यवस्था गर्न माग गरे।
सांसद बलावती शर्माले सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिइन्। सांसद सुलभ खरेलले सुकुमवासीलाई व्यवस्थित गर्न जिल्लाजिल्लामा माग भइरहेको आफूले अनुभव गरेको बताए।
सांसद रमेश मल्लले भारतमा हराएका नेपालीको खोजी गरी स्वदेश फर्काउन माग गरे। सांसद यज्ञमणि न्यौपानेले सहिष्णुताका आधारमा राजनीति गर्नुपर्नेमा जोड दिए।
सांसद रीमा विश्वकर्माले बर्दिया जिल्लामा ८२ परिवार सुकुमवासीले लालपुर्जा पाएकाले भूमिहीनको समस्या समाधान गर्न सरकार लागिपरेको बताइन्।
प्रकाशित: १४ श्रावण २०८३ १३:१२ बिहीबार


-600x400.jpg)


