नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले साम्प्रदायिक द्वेष बढाउने जोखिम रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले उक्त घटनामा सुरक्षा निकायबाट गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो वा थिएन भन्ने विषय निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताए। घटनालाई संवेदनशील रूपमा लिनुपर्ने भन्दै सामाजिक सद्भाव, मेलमिलाप र नेपालको गौरवशाली सहअस्तित्वको परम्परालाई जोगाउँदै परिस्थितिलाई शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्नेमा जोड दिए।
उनले निर्वाचनमा जनतासँग गरिएका प्रतिबद्धताअनुसार सरकार अघि बढ्न नसकेको बताउँदै जनताले परिवर्तनको अपेक्षासहित दिएको मतअनुसार परिणाम देखिन नसकेको बताए। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार गरेको सर्वदलीय बैठकलाई सकारात्मक पहलको रूपमा लिँदै सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए।
तर, यस्ता संवेदनशील र महत्वपूर्ण बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवैको अनुपस्थिति चिन्ताको विषय भएको उनको भनाइ थियो। ‘सबैभन्दा नेतृत्वदायी भूमिका संवैधानिक, कानुनी र व्यवहारिक रूपमा प्रधानमन्त्रीले नै खेल्नुपर्थ्यो। तर यति महत्वपूर्ण बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित हुनु गम्भीर विषय हो,’ उनले भने।
प्रकाशित: १४ श्रावण २०८३ १३:३१ बिहीबार





