१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु, शान्ति–सुरक्षा कायम गर्न प्रशासनको आग्रह

सुनसरी घटनालाई लिएर सिरहाको गोलबजार क्षेत्रमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार आन्दोलन तथा सम्भावित हिंसात्मक गतिविधिका कारण शान्ति–सुरक्षा भंग हुन सक्ने आकलनपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम कर्फ्यु लागू गरेको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकाको वडा नं. २ को कसहा खोलादेखि पश्चिमतर्फ चौधरी चोकसम्म, उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं. ४ स्थित राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस वरपरको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।

गत साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी रहने प्रशासनले  जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गर्दै आदेश उल्लंघन गर्ने जो–कोहीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

पछिल्ला दिनहरूमा गोलबजार क्षेत्रमा आन्दोलन र तनाव बढ्दै गएपछि सम्भावित अप्रिय घटना रोक्न प्रशासनले कडा सुरक्षा व्यवस्था अपनाउँदै कर्फ्यु आदेश जारी गरेको जनाएको छ।

प्रकाशित: १४ श्रावण २०८३ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App