१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

किन गएका थिए नेकपा वरिष्ठ नेता खनाल चीन?

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले यही श्रावण ७ देखि १३ गतेसम्म चीनको सप्ताहव्यापी भ्रमण पूरा गरी बुधवार राति स्वदेश फर्किएका छन्। चीनमा रहँदा खनालले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विषयमा विस्तृत रूपमा विचार र अनुभवहरूको आदान–प्रदान गरेका थिए।

उक्त द्विपक्षीय आदान–प्रदानको क्रममा चीनले सधैं नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा रहेको, नेपालले आफ्नो विकास, निर्माण र रूपान्तरणको स्वतन्त्र बाटो पहिल्याएको देख्न चाहेको तथा नेपालको विकास प्रयासमा चीन कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको कुरा चिनियाँ पक्षले व्यक्त गरेको थियो। सो अवसरमा पूर्वप्रधानमन्त्री खनालले नेपाल सधैं ‘एक चीन नीति’ मा दृढ रहेको र नेपालको भूमि चीनविरुद्ध कसैले प्रयोग नगरोस् भन्नेतर्फ सचेत रहेको स्पष्ट पारेका थिए।

चीन भ्रमणका क्रममा खनालले सीपीसीले आफ्नो स्थापनाको प्रथम शताब्दीमा उद्घाटन गरेको पार्टी संग्रहालय, माओत्सेतुङ्गले सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना घोषणा गरेको तियानमेन स्क्वायरको मञ्च, एसियाकै सबैभन्दा ठूलो र प्राचीन चिनियाँ दर्शनको संयोजनबाट बनेको ‘स्वर्गको मन्दिर’ का साथै विश्वकै अत्याधुनिक र विशाल विद्युतीय गाडीको कारखाना तथा ‘सियाओमी’ को विस्तृत अवलोकन गरेका थिए।

त्यसैगरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै नेता खनालले नेपालले पनि चीनले जस्तै पार्टी निर्माण, क्रान्तिको बाटो, विकास र निर्माण, वा समाजवाद निर्माण गर्दा विदेशीहरूको नक्कल वा दबाबमा नपरी आफ्नै स्वतन्त्र बाटो पहिल्याएर मात्र विकास, रूपान्तरण र समृद्धि हासिल गर्न सकिने कुरामा जोड दिएका थिए। उनले नेपालका सबै तहका सरकार, पार्टी, नेता तथा बौद्धिक जनसमुदायले यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ र त्यही आधारमा नेपाल–चीन सम्बन्ध तथा सहयोगलाई भविष्यमा पनि अघि बढाउनुपर्ने कुरामा जोड दिए।  

प्रकाशित: १४ श्रावण २०८३ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App