प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्यले संसदको शून्य समयलाई केवल औपचारिकतामा सीमित नगरी जनताका आवाज सुनिने र कार्यान्वयन हुने बनाउनु पर्ने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै उनले सांसदहरूले उठाएका विषय सुनिने, टिपोट गरिने र कार्यान्वयन गरिने हो भने यसलाई ‘पूर्ण समय’ भन्न सकिने बताए।
‘यदि हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयन हुन्छन् भने यसलाई पूर्ण समय भनौं। यदि जनताका पीडा, देशका समस्या र देशका मुद्दाहरू जति बोले पनि शून्यमा शून्यझैँ बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन, ‘ब्ल्याकहोल समय’ राखौं,’ उनले भने।
उनले ब्ल्याकहोलमा प्रकाश समेत हराएझैँ संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने बताए। शून्य समय केवल बोल्ने औपचारिकता नभई जनताका पीडा संसदमा प्रस्तुत गर्ने संवैधानिक ढोका भएको भन्दै उनले ढोका खुलेपछि त्यसले परिणाम दिने बाटोसमेत हुनुपर्ने बताए।
सांसद आचार्यले शून्य समयमा उठाइएका विषयहरू संसदको अभिलेखमा मात्र सीमित नराखी तत्काल सम्बन्धित मन्त्रालय तथा निकायमा पठाउनुपर्ने माग गरे।
‘सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने, व्यवस्था नसुन्ने — यो परम्परा अब अन्त्य हुनुपर्छ,’ उनले भने।
आचार्यले शून्य समय वास्तवमै जनताको आवाज, गुनासा र अपेक्षाहरू सरकारसम्म पुर्याउने प्रभावकारी माध्यम बन्नुपर्नेमा जोड दिँदै शून्य समयलाई ‘शून्य’ नभई ‘जनताको आवाजको समय’ बनाउनु पर्ने बताए।
प्रकाशित: २८ जेष्ठ २०८३ १६:३५ बिहीबार





