११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

संवाद, सहमति र चुनावबाटै अबको हल खोजौँ: गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जीको रगत र कयौं युवा सहिदहरूको सपनाभन्दा बाहिर जाने र बोल्ने छुट कसैले नभएको बताएका छन्।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै मन्त्री अर्यालले कुनै पनि हालतमा कोही कसैलाई अहिले जेन-जी युवा वर्ग र जनताले चाहेको परिवर्तनको जनभावना विपरीत जाने छुट नभएकोले सबैले वार्ता, सहमति र चुनावबाटै अबको हल खोजिनु पर्नेमा जोड दिए।

सरकारले दण्डहीनतालाई कहिल्यै पनि प्रशय नदिने कुरा बताउँदै, मन्त्री अर्यालले राष्ट्रिय र निजी सम्पत्तिमा क्षति भएकोबारे कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले पनि हेरिरहेको र यसमा सरकारले ‘व्ल्याङ्केट अप्रोच’ (नजरअन्दाज) नगरी काम गरिरहेको पनि समिति समक्ष जानकारी दिए।  

‘जेन-जीको रगत सडकमा बग्नुका कारण सुशासन लागि नै हो, यो सरकार सुशासनको मामलामा अत्यन्तै सजक रहन्छ र हामी यसलाई सम्बोधन गरेरै जान्छौं,’ मन्त्री अर्यालले भने।

उनले भने-, ‘जेनजी सहिदहरूको सपनाभन्दा बाहिर जाने छुट हामीलाई छैन र देशमा उनीहरुले देखेको सुशासन, भ्रष्टाचार अन्त्यका सपना नै यो आन्दोलन हुनुको मुख्य कारण हो।’

समितिमा उठेका प्रश्नहरूको उत्तर दिदै मन्त्री अर्यालले भन‍े-, ‘प्रहरीको मनोबल उच्च राख्न उनीहरुले गर्न र लिन खोजेको निर्णयमा हस्तक्षेप नगरे मात्रै पनि प्रहरी संगठनको मनोबल स्वतः उच्च हुन्छ।’

आगामी निर्वाचनमा सुरक्षा निकायलाई आवश्यक बन्दो बस्तीका सामग्रीको कमी हुन नदिन र आवश्यक आर्थिक श्रोत जुटाउन विभिन्न निकायहरूसँग समन्वय भइरहेको पनि मन्त्री अर्यालले समितिलाई बताए।

अर्को प्रसङ्गमा मन्त्री अर्यालले भने, ‘दलहरूसँग सरकार नकारात्मक हुनै नसक्ने भन्दै, वार्ता र छलफल विभिन्न तहमा आगामी समयमा हुने नै छ।’

आजको बैठकमा समितिका अधिकांश सदस्यहरूले चुनाव तोकिएकै मितिमै हुने कुरा, प्रहरीहरूको खस्किएको मनोबल, देशमा शान्ति सुरक्षा र भयको वातावरण नभएको जस्ता जिज्ञासा प्रस्तुत गरेका थिए।

समिति सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको बैठकले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरीहरूको मनोबल उच्च बनाउँदै आन्दोलनका क्रममा लुटिएका हातहतियार र आपराधिक क्रियाकलापमा लागेकाहरूलाई कानुनी दायर ल्याउन र मुलुकमा भयरहित वातावरण निर्माण गर्न समितिले सरकारलाई निर्देशन गरेको छ।

प्रकाशित: २७ कार्तिक २०८२ १६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App