२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसमा नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु, महाधिवेशन मितिमा विवाद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु गरेका छन्।

भदौ २४ गतेको ध्वंससँगै आक्रमणमा परेका कांग्रेस सभापति देउवा पहिलो पटक मंगलबार केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका हुन्।

भदौ २४ गतेपछिको विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाइएको बैठकमा सहभागी हुन सानेपा पुगेका देउवाले पार्टी नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको स्पष्ट सन्देश दिएका छन्।

३५ दिनपछि पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका देउवाले आठ बुँदामा १३ पृष्ठ लामो भावपूर्ण मन्तव्य दिँदै आफ्नो स्वाथ्यका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निधोमा पुगेको बताए।

आफ्नो जटिल स्वास्थ्य अवस्था रहेको जानकारी केन्द्रीय समितिलाई गराएका देउवा छिट्टै थप उपचारका लागि विदेश जाने तयारीमा छन्।

पार्टीभित्र नेतृत्व हस्तान्तरण तथा महाधिवेशनका विषयमा तीव्र बहस र विवाद चलिरहेका बेला देउवाले आफूले यसअघि नै नेतृत्व हस्तान्तरण गर्ने बताइसकेको स्मरण गरे। पार्टी विधानले पनि आफूलाई पुनः सभापति बन्न नदिने र उमेरले समेत नदिने भनेर उनले सम्झाएका थिए।

भदौ २३ र २४ को अवस्था आउनुअघि असार १३ गते कांग्रेस नेत्री गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा चितवन पुगेका देउवाले आफू पार्टीको सक्रिय राजनीतिबाट ‘रिटायर्ड’ हुन लागेको बताएका थिए।

त्यसअघि नेतृत्व हस्तान्तरणका विषयमा मुख नखोल्दा कतै देउवाले विधान नै संशोधन गरेर फेरि उम्मेदवार बन्ने त होइन भन्ने आशंका पार्टीकै नेताहरूले गर्दै आएका थिए।

त्यसलाई चिर्दै देउवाले आफू नेतृत्व हस्तान्तरणको चरणमा रहेका जनाउँदै नेताहरूलाई पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन मिलेर अघि बढ्न नेताहरूलाई आह्वान गरेका थिए। तर नेतृत्व कहिले हस्तान्तरण गर्छन् भनेर कांग्रेसमा अन्योल थियो।

पार्टीको विधानले चार वर्ष कार्यकाल रहे पनि देउवाले विधानका अन्य छिद्रहरूलाई टेकेर कार्यकाल लम्ब्याउन खोजेको आशंका व्यक्त गर्दै शेखर कोइरालासहितका नेताहरूले महाधिवेशनका लागि एक वर्ष अघिदेखि नै दबाब बढाउँदै लगेका थिए।

तर अहिलेसम्म पनि क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन निश्चित हुन सकेको थिएन। सोही बेलाको विद्रोहपछि कांग्रेससहितका पुराना राजनीतिक दलका शीर्ष नेताहरूमाथि नेतृत्व हस्तान्तरणका लागि तीव्र दबाब पर्दै आएको छ।

सोहीक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि देशभरि हस्ताक्षर अभियान नै चलाएका छन्।

कार्यकाल सकिन लागेको केन्द्रीय समिति र महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गर्ने कुरामा प्रश्न उठेपछि उनीहरूले सके मंसिरभित्र नियमित महाधिवेशन गर्ने र नभए विशेष महाधिवेशन गर्नेेमा जानुपर्ने बताएका छन्।

सोही बेला सभापति देउवाले नेतृत्व हस्तान्तरणको प्रक्रिया आफूले सुरु गरेको सन्देश दिएका हुन्। उनले केन्द्रीय समितिलाई सम्बोधन गर्ने क्रममा विगतको मात्र स्मरण गरेनन्, वर्तमानको चासो र चिन्ता राख्दै भविष्यका लागि पार्टीभित्रको एकतालाई पनि जोड दिए।

जेन-जी आन्दोनलका क्रममा भएका घटनाप्रति दुःख व्यक्त गरेका देउवाले भदौ २४ पछिको अवस्थाबाट देशलाई राजनीतिक निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गरे।

केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणासहित पार्टी कार्यालय पुगेका देउवाले भदौ २४ गतेलाई दर्दनाक दिनका रूपमा स्मरण गरे। निर्वाचनमा जान कांग्रेस सकारात्मक रहेको संकेत गरेका देउवाले त्यसका लागि वातावरण तयार नभएको स्पष्ट सन्देश दिए।

सरकारलाई त्यसका लागि तयारी गर्न र पार्टीका नेता–कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गरे। सँगै पार्टी महामन्त्रीहरूको विशेष महाधिवेशन र मंसिरभित्र नियमित महाधिवेशनका विषयमा देउवा मौन रहे।

तर पार्टीभित्रको एकतालाई जोड दिँदै सोहीअनुसार निर्णयमा पुग्न केन्द्रीय समितिलाई निर्देशन दिए। त्यससँगै कांग्रेस केन्द्रीय समितिको बैठक असोज ३० गते बस्ने गरी स्थगित भएको छ।

केन्द्रीय समितिका सदस्य, देशभरिका कांग्रेस नेता–कार्यकर्ता मात्र होइन, कांग्रेस सभापति देउवा पनि नेतृत्व हस्तान्तरणका लागि तयार देखिएका छन्। तर कांग्रेसमा नेतृत्व हस्तान्तरण कहिले गर्ने भन्ने विषयमा अझै समझदारी निर्माण हुन सकेको छैन।

सभापति देउवासहितका नेताहरू निर्वाचनको तयारीसँगै पार्टी महाधिवेशनलाई अघि बढाउनुपर्ने पक्षमा छन्। नेता शेखर कोइरालासहित अधिकांश नेताहरू छिटो र छोटो बाटोबाट पार्टी नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

कार्यकाल सकिन लागेको केन्द्रीय समिति र महाधिवेशनबाट केन्द्रको नेतृत्व मात्र परिवर्तन गरेर मुलुक र पार्टीलाई निकास दिन नसकिने पक्षमा छन्। तर महामन्त्री थापा, शर्मासहितका नेताहरू मंसिरभित्र महाधिवेशन नभए विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

सोही सेरोफेरोमा कांग्रेस केन्द्रीय समितिको बैठक केन्द्रित हुने नेताहरूले जनाएका छन्।

प्रकाशित: २८ आश्विन २०८२ २१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App