मुलुकमा विकसित राजनीतिक घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्न पुगेको छ। गत भदौ तेस्रो साता जेनजी पुस्ताले गरेको दुईदिने विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न २६ गतेका लागि डाकिएको केन्द्रीय समितिको बैठक नजिकिँदै गर्दा नेताहरू आआफ्नै तयारीमा जुटेका हुन्।
बैठकअघि नै सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न दबाब दिने रणनीतिमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा छन्। फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको पक्षमा उभिएका उनीहरू जेनजी विद्रोहको बलमा पार्टीमा नेतृत्व बदल्ने पक्षमा उभिएका छन्। यसका लागि विशेष महाधिवेशन डाक्न उनीहरूले हस्ताक्षर संकलन अभियान चलाएका छन्। महामन्त्री शर्माले मंगलबार एक भिडियो विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘...हस्ताक्षर गर्नेहरूले ढिला नगर्नुस् र २४ गतेभित्रै गरिसक्नुस्।’
कांग्रेस विधानमा केन्द्रीय समितिले चाहेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारणसहित माग गर्दै निवेदन दर्ता गराएमा त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ। जुन कारणले विशेष महाधिवेशन बोलाइन्छ त्यसैमा मात्र छलफल हुने व्यवस्था विधानमा छ। विशेष महाधिवेशनका लागि हस्ताक्षर चलाइरहेका नेताहरूले केन्द्रीय समितिले योसहित अन्य विषयमा निर्णय गर्नसक्ने बताउँदै आएका छन्। विशेष महाधिवेशनमा १४औं महाधिवेशनका लागि छानिएका प्रतिनिधिबाट नयाँ नेतृत्व चयन गर्ने र त्यो नियमित महाधिवेशन जस्तै हुने उनीहरूको तर्क छ।
विशेष महाधिवेशन भएमा त्यो कांग्रेस कार्य समितिको बाँकी अवधिका लागि मात्र हुनेछ। त्यसैले अब विशेष महाधिवेशन होइन, नियमित महाधिवेशनमा जानुपर्ने कतिपय नेताको तर्क छ। केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीभित्र अहिले तिक्तता र विवाद होइन, एकता आवश्यक भएको बताउँछन्।
पार्टीका कुनै पनि नेतालाई निशेध र अलग्याएर होइन, समग्रमा एकता काम गरेर अघि बढ्नुपर्ने तर्क गर्दै उनले भने, ‘अब छिटो र छोटो बाटोबाट नियमित महाधिवेशनमा जानुपर्छ।’
कांग्रेसको १४औं महाधिवेशन भएको पुसमा चार वर्ष पुग्छ। विधानको अतिरिक्त सुविधा नलिने हो भने १५औं महाधिवेशन पुसभित्र हुनुपर्छ तर विधानमा थप एक वर्ष समय बढाउन सकिने व्यवस्था पनि छ। नेता डा. शेखर कोइराला नियमित महाधिवेशनमा जानुपर्ने पक्षमा छन्।
पहिलादेखि नै विधानको अतिरिक्त सुविधा प्रयोग नगरी नियमित महाधिवेशनमा जानुपर्ने पक्षमा अभिव्यक्ति दिँदै आएका उनले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभा निर्वाचनमा नयाँ नेतृत्वसहित सहभागी हुनुपर्नेमा जोड दिएका छन्। यसको निर्णय आइतबार बस्ने केन्द्रीय समितिले गर्नुपर्ने उनी बताउँछन्।
विशेष महाधिवेशनका लागि महामन्त्रीद्वय थापा र शर्माले सुरु गरेको हस्ताक्षर अभियानको पक्ष वा विपक्षमा नखुलेका कोइराला वर्तमान केन्द्रीय समितिको चार वर्षे कार्यकाल पूरा हुन लागेकाले अब नियमित महाधिवेशनबाटै नेतृत्वमा पुग्न चाहन्छन्। सुशीला कार्की नेतृत्व सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन मिति तोकेको छ। त्यसअघि नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा कांग्रेसका अधिकांश नेता छन्।
विशेष महाधिवेशनको कुरा उठाएर पार्टीलाई कमजोर र विभाजनतर्फ लैजान खोजिएको सभापति देउवा निकट नेताहरूको बुझाइ छ। पार्टी विधानले मात्र होइन, सभापति देउवाको उमेरले पनि उनी आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी नबन्ने निश्चित भएको अवस्थामा नेतृत्व बदल्न विशेष महाधिवेशनको कुरा उठाएर अनावश्यक विवाद गर्नुको औचित्य नरहेको दाबी देउवा पक्षका नेताहरूको छ।
‘नेपाली कांग्रेसको विधान र पार्टी सभापतिले नियमित महाधिवेशनमा आफू सभापति पदका लागि उम्मेदवार नहुने र नेतृत्व हस्तान्तरण गर्ने भनिसक्नु भएको छ। यस्तो अवस्थामा पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलनजस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्नु राम्रो होइन,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘चर्चामा आउने र पार्टीलाई कमजोर बनाउने काम कसैलै पनि गर्नु हुँदैन।’
नियमित महाधिवेशनको तयारी गर्नुपर्ने महामन्त्रीहरू विशेष महाधिवेशनको कुरा गरे ‘पानीमाथि ओभानो बन्न खोजेको’ आरोप ती सदस्यको छ। इतर पक्ष विशेष महाधिवेशनका लागि देउवामाथि दबाब बढाउन सक्रिय रहेका बेला संस्थापन पक्ष भने नियमित महाधिवेशनको कार्यतालिका ल्याउने गृहकार्यमा छ।
पार्टीमा बहुपदीय व्यवस्थाको औचित्यमाथि प्रश्न उठाउँदै केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान पदाधिकारीहरूको कार्यसम्पादनको निर्मम समीक्षा हुनुपर्ने बताएका छन्। १४औं महाधिवेशनमा गरिएका व्यक्तिगत प्रतिबद्धता के कति कार्यान्वयन भए भन्ने प्रश्न गर्दै महरले भने, ‘पार्टीलाई अगाडि बढाउन नियमित महाधिवेशन, मौजुदा केन्दीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन जस्ता विकल्पमाथि छलफल हुनुपर्छ।’
सभापति देउवा र उनी पक्षका नेताहरू इतर पक्षको दबाब बढेमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिने र नियमति महाधिवेशनको कार्यातालिका सार्वजनिक गर्ने तयारीमा छन्।
हरेक पटक असमयमै विघटित प्रतिनिधिसभा पुनःस्थापनको पक्षमा कांग्रेस उभिएको स्मरण गर्दै केही नेता केन्द्रीय समिति बैठकबाट सोहीअनुसारको निर्णय लिनुपर्ने पक्षमा छन्। केन्द्रीय सदस्य श्यामकुमार घिमिरेसहितका नेताले प्रतिनिधिसभा पुनःस्थापना, कार्यबाहक सभापति तोक्ने र नियमित महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने विषयमा बहस चलाउँदै आएका छन्।
कांग्रेस नेता विमलेन्द्र निधि पार्टीले नेतृत्वका विषयमा धारणा स्पष्ट गर्न ढिला गर्न नहुने बताउँछन्। ‘सभापति बैठकमा आउन सक्नुहुन्न भने उपसभापतिलाई कार्यबाहक सभापति तोक्नुपर्छ र पार्टीले छिटो निर्णय लिनुपर्छ,’ उनले भने, ‘छिटो महाधिवेशनको वातावरण तयार गर्नुपर्छ। व्यक्तिगतभन्दा पार्टी हितमा केन्द्रित हुनुपर्ने बेला हो यो।’
केन्द्रीय सदस्य प्रतिमा गौतमले अहिलेकै नेतृत्वलाई बोकेर प्रतिनिधिसभाको चुनावमा जान कठिन हुने दाबी गरिन्। उनले भनिन्, ‘अहिलेको परिस्थिति आउनुमा पार्टीले अख्तियार गरेका नीति, निर्णय, कदम, काम, कारबाही र नेतृत्वको कार्यशैली जिम्मेवार छ। अहिलेको नेतृत्वबाट पार्टी अघि बढ्न सक्दैन।’
नेताहरू आआफ्नो स्वार्थ अनुकूलको तयारीमा जुटे पनि कार्यकर्ता भने अलमलमा छन्।
प्रकाशित: २२ आश्विन २०८२ ०७:०८ बुधबार





