२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

नेताहरूले संसद् पुनर्स्थापनाको बहस चलाउनु जेनजी क्रान्तिको मर्मविपरीत : सुमना श्रेष्ठ

पूर्वसांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनलाई खुलेर समर्थन गरेकी छन्। उनले ताजा जनादेशको लागि सम्पूर्ण नेपाली समाज तयार भइसकेको अवस्थामा केही नेताहरूले संसद पुनर्स्थापनाको बहस चलाउनुलाई जेनजी क्रान्तिको मर्म विपरित रहेको बताएकी छन्।

श्रेष्ठले स्वार्थी र सत्तालिप्सामा डुबेका नेताहरूको आलोचना गर्दै नागरिक सरकारले गराउने निर्वाचनको निष्पक्षतामाथि शंका गर्नुलाई जनता समक्ष जान नसक्ने हत्यारा, भ्रष्टाचारी, कायर अपराधिक तत्वहरूको निकृष्ट बहाना मात्र भएको जिकिर गरेकी छन्। उनले लोकतान्त्रिक चरित्र देखाउन नसक्नेहरू लोकतन्त्रको अभ्यासबाट भाग्न खोजेको नेपाली जनताले स्पष्टसँग बुझेको समेत उल्लेख गरेकी छन्।

शान्तिपूर्ण निकासको लागि एक कदम अगाडि बढेको नेपाली समाजलाई द्वन्द्वतिर लैजानका लागि आफ्नो भ्रातृ संगठनहरूलाई उक्साउनु प्रतिक्रान्ति को तयारी गर्नु मात्रै  रहेको भन्दै एमाले र कांग्रेसभित्र रहेका निष्ठावान् युवाहरूलाई परिस्थिति जटिल हुन नदिनका लागि नेतृत्वसँग विद्रोह, प्रतिवाद र प्रतिरोध गर्न अपिल गरेकी छन्।  

उनले नेपाल र विश्वको इतिहासलाई साक्षी राख्दै प्रतिक्रान्तिको नेतृत्व गर्ने तत्वहरू विरुद्ध सामान्य जनताहरू विभाजन रेखाहरूभन्दा माथि उठेर गोलबद्ध हुने बताएकी छन्।

यस्तो छ उनको स्टाटस:

ताजा जनादेशको लागि ठूला राजनितिक दलहरुका एक खेमा सहित सम्पूर्ण नेपाली समाज तैयार भईसकेको अवस्थामा स्वार्थी र सत्तालिप्सामा डुबेका नेताहरुले संसद पुनर्स्थापनाको बहस चलाउनु भाद्र २३ को युवा क्रान्तिको मर्म विपरित छ। साथै नागरिक सरकारले गराउने निर्वाचनको निष्पक्षता माथि शंका गर्नु, जनता समक्ष जान नसक्ने हत्यारा, भ्रष्टाचारि, कायर अपराधिक तत्वहरुको निकृष्ट बहाना मात्रै हुन्। आफुलाई लोकतान्त्रिक भन्ने तर लोकतान्त्रिक चरित्र देखाउन नसक्नेहरु लोकतन्त्रको अभ्यासबाट भाग्न खोजेको नेपाली जनताले प्रष्ट सँग बुझेका छन्।

शान्तिपूर्ण निकासको लागि एक कदम अगाडि बढिसकेको नेपाली समाजलाई द्वन्द तिर लैजान आफ्नो भातृ संगठनहरुलाई उक्साउनु ‘प्रतिक्रान्ति’ को तयारी गर्नु मात्रै हो। त्यसैले एमाले र काँग्रेस भित्र रहनु भएका नेपाल र नेपालीलाई माया गर्ने निष्ठावान युवा साथीहरुलाई परिस्थितिलाई जटिल हुन नदिन नेतृत्व सँग विद्रोह, प्रतिवाद र प्रतिरोध गर्न अपील गर्दछु।

नेपाल र विश्वको ईतिहास साक्षी छ। ‘प्रतिक्रान्ति’ को नेतृत्व गर्ने तत्वहरु विरुद्ध सामान्य जनताहरु विभाजन रेखाहरु भन्दा माथि उठेर गोलबद्ध हुन्छन्। त्यसैले काँग्रेस वा एमालेले यो देशको एक मात्र साझा शत्रु बन्ने चेष्टा नगरेको वेश।  

याद राख्नुस्, कुनै पनि षडयन्त्र विरुद्ध लड्न जनता सचेत, सजग र तैयार छन्।

प्रकाशित: २४ आश्विन २०८२ १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App