२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

नेपालको सहमतिबिना भूमि प्रयोग अनुचित : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन्। 

घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै सहमतिबिना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य हुने बताए। उनले भने, ‘दुई छिमेकी राष्ट्रले नेपालको भूमि प्रयोगका सन्दर्भमा नेपालकै सहमतिबिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन्। नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ। नेपालको सहमति र सहभागिताबिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ। तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ।’  

सुगौली सन्धिको सीमा नै वास्तविक सीमा भएको दाबी गर्दै उनले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताए। सरकारको कार्यक्षमता र उपलब्धिबारे नेता पोखरेलले भने, ‘अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको छ। राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ।’  

यसैबीच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने जानकारी दिए। महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक र विधान संशोधनसहित तीन प्रस्तावमाथि छलफल हुने उनले बताए। उनका अनुसार साढे छ लाख सदस्य छलफलमा सहभागी हुनेछन्।

प्रकाशित: ७ भाद्र २०८२ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App